रबिन थपलिया । काठमाडौं — तारकेश्वर नगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारी उपप्रमुख सिर्जना भुर्लाकोटी अर्याललाई प्रदान गरिएको छ । नगर प्रमुख कृष्णहरि महर्जन वैदेशिक भ्रमणमा रहँदा नगरको दैनिक प्रशासनिक तथा नीतिगत कार्य सञ्चालनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले उक्त जिम्मेवारी हस्तान्तरण गरिएको हो।
नगरपालिकाबाट जारी आधिकारिक पत्रअनुसार मेयर महर्जन दुई साता लामो भ्रमणका लागि विदेश गएका कारण स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उपप्रमुखलाई कार्यवाहक मेयरको अधिकार दिइएको उल्लेख छ । सोही निर्णयअनुसार चैत ३० गतेदेखि अर्यालले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्न थालेकी हुन्।
कार्यवाहक मेयरको रूपमा अर्यालले नगरका दैनिक प्रशासनिक कामकाज, विकास निर्माणका गतिविधि, सेवा प्रवाह तथा नीतिगत निर्णय प्रक्रियालाई निरन्तरता दिनेछिन्। नगरवासीलाई सहज सेवा उपलब्ध गराउने, चालु योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने तथा कार्यालयको समन्वयकारी भूमिकालाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।
तारकेश्वर नगरपालिका स्रोतका अनुसार नेतृत्वको अस्थायी परिवर्तन भए पनि नगरको समग्र कामकाज नियमित रूपमा सञ्चालन हुने विश्वास लिइएको छ। कार्यवाहक मेयर अर्यालले जिम्मेवारी सम्हालेसँगै कर्मचारी संयन्त्रसँग समन्वय गर्दै जनहितमुखी कार्यलाई प्राथमिकतामा राख्ने बताइएको छ ।
तारकेश्वरमा कार्यवाहक मेयरको जिम्मेवारी उपप्रमुखलाई


प्रतिक्रिया दिनुहोस्