काठमाडौं, असार १२ – तारकेश्वर नगरपालिका क्षेत्रमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूले नगरपालिकाले असार ११ गते जारी गरेको ‘ध्यानाकर्षण’ विज्ञप्तिप्रति गम्भीर असन्तुष्टि जनाउँदै शुक्रबार प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
पत्रकारहरूले नगरपालिकाको उक्त विज्ञप्तिले समग्र पत्रकार समुदायप्रति अविश्वास, पूर्वाग्रह र आरोप लगाउने प्रयास गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। ज्ञापनपत्रमा लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकार संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएको उल्लेख गर्दै सार्वजनिक निकायका गतिविधि, निर्णय, सेवा प्रवाह, विकास निर्माण तथा जनचासोका विषयमा समाचार संकलन र सम्प्रेषण गर्नु पत्रकारको पेशागत दायित्व भएको स्मरण गराइएको छ।
ज्ञापनपत्रमा तारकेश्वर नगरपालिकाका केही जनप्रतिनिधिले विभिन्न समयमा पत्रकारहरूलाई समाचारप्रति असन्तुष्टि व्यक्त गर्ने, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दबाब र धम्की दिने तथा नगरपालिकासम्बन्धी समाचार लेखिए सामूहिक प्रतिकार गर्ने अभिव्यक्ति दिने गरेको आरोप लगाइएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिबाट प्रेस तथा पत्रकारिता पेशाप्रति देखाइएको यस्तो व्यवहार स्वीकार्य हुन नसक्ने पत्रकारहरूको भनाइ छ।
पत्रकारहरूले नगरपालिकासँग स्थानीय सञ्चारकर्मीको सम्बन्ध केवल समाचार संकलनमा सीमित नभई स्थानीय विकास र समृद्धिको सहयात्रीका रूपमा रहेको उल्लेख गर्दै कुनै एक सञ्चारमाध्यमको समाचार वा सामाजिक सञ्जालमा व्यक्त गरिएको व्यक्तिगत धारणा आधार बनाएर सम्पूर्ण पत्रकार समुदायमाथि प्रश्न उठाउनु अनुचित भएको बताएका छन्।
पत्रकारहरूले कुनै समाचार तथ्यहीन वा आचारसंहिताविपरीत भए त्यसका लागि प्रेस काउन्सिल नेपाल, अदालत वा सम्बन्धित निकायमा जाने कानुनी व्यवस्था रहेकाले सम्पूर्ण पत्रकार समुदायलाई लक्षित गर्दै चेतावनीपूर्ण विज्ञप्ति जारी गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले नगरपालिकालाई पत्रकारप्रति देखाइएको पूर्वाग्रही दृष्टिकोण अन्त्य गर्न, पत्रकार समुदायमाथि लगाइएका अप्रत्यक्ष आरोप फिर्ता लिन, सार्वजनिक रूपमा स्पष्ट धारणा राख्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्। साथै पत्रकारमाथि भइरहेको अपमानजनक व्यवहार, निषेध तथा पेशागत स्वतन्त्रतामाथिको हस्तक्षेपबारे नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा रबिन प्रसाद थपलिया, रामशरण न्यौपाने, ऋषि बस्याल, मनोज गजुरेल, रमित बलामी र सनत आचार्यसहित तारकेश्वर क्षेत्रमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको हस्ताक्षर रहेको छ।
यसैबीच, ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले पत्रकारहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको पत्रकारहरूले बताएका छन्।
यस्तो छ पत्रकारहरुको तारकेश्वर नगरपालिकालाई बुझाएको ज्ञापनपत्र
तारकेश्वर नगरपालिकाले निकालेको ज्ञापनपत्र



प्रतिक्रिया दिनुहोस्