देउवा कुटिँदा मौन, स्वागतमा शक्ति प्रदर्शन : कांग्रेसभित्रको विरोधाभासमाथि गम्भीर प्रश्न

Sagarmatha Post
Sagarmatha Post २७ श्रावण २०८३, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै गर्दा उनलाई स्वागत गर्न विमानस्थलमा देखिन लागेको भीड र शक्ति प्रदर्शनले नेपाली कांग्रेसभित्रको एउटा गम्भीर प्रश्नलाई फेरि सतहमा ल्याएको छ—सभापतिमाथि आक्रमण हुँदा बोल्न नसक्नेहरू आज स्वागतका लागि लामबद्ध हुनुको नैतिक अर्थ के हो?

जेनजी आन्दोलनका क्रममा तत्कालीन सभापति देउवामाथि भएको निर्घात कुटपिट र आक्रमणका बेला कांग्रेसका दर्जनौँ भ्रातृ तथा शुभेच्छुक संस्थाहरू कहाँ थिए? नेविसंघ, तरुण दललगायतका संगठनहरू भएको पार्टीका सभापतिमाथि आक्रमण हुँदा त्यसको राजनीतिक प्रतिवाद गर्न नसक्नेहरू आज देउवालाई स्वागत गर्न हुल बाँधेर विमानस्थल पुग्नु आफैँमा विरोधाभासपूर्ण दृश्य होइन र?

देउवा लामो समय उपचारपछि स्वदेश फर्किनु सामान्यतः सम्मान र सद्भाव प्रकट गर्ने अवसर हो। लामो समयपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा पूर्वसभापतिलाई स्वागत गर्नु नेपाली राजनीतिक संस्कारकै एउटा हिस्सा हो। तर प्रश्न स्वागतको होइन, त्यो स्वागतको राजनीतिक नियत र समयको हो।

जुन बेला देउवा राजनीतिक रूपमा कमजोर अवस्थामा थिए, आक्रमणको निशानामा थिए र उपचारको आवश्यकता परेको थियो, त्यतिबेला उनको पक्षमा दृढतापूर्वक उभिन नसक्नेहरू आज ठूलो जमात बनाएर विमानस्थल पुगेर शक्ति प्रदर्शन गर्न खोज्छन् भने स्वाभाविक रूपमा प्रश्न उठ्छ—यो सम्मान हो कि फेरि राजनीतिक भागबन्डाको खोजी?

कांग्रेस अहिले नयाँ नेतृत्वको चरणमा प्रवेश गरिसकेको छ। गगन थापाको नेतृत्वमा पार्टी अघि बढिरहेको अवस्थामा विगतमा देउवाको वरिपरि रहेर राजनीतिक अवसर र पद प्राप्त गरेका कतिपय नेताहरू नयाँ नेतृत्वमा आफ्नो स्थान सुरक्षित नहुने चिन्तामा रहेको राजनीतिक वृत्तमा चर्चा छ। यस्तो अवस्थामा देउवाको स्वागतलाई केवल व्यक्तिगत सम्मानका रूपमा मात्र बुझ्ने कि त्यसमा आगामी राजनीतिक समीकरणको संकेत पनि खोज्ने?

कांग्रेसभित्र गुट र उपगुटको राजनीति नयाँ विषय होइन। तर बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा जस्ता लोकतान्त्रिक आन्दोलनका अग्रजहरूको विरासत बोकेको पार्टीमा नेतृत्वको प्रश्न व्यक्तिगत गुट, पद र अवसरको हिसाबकिताबमा सीमित हुँदै जानु चिन्ताको विषय हो।

आज कांग्रेसका युवाले आफ्ना नेताबाट के सिक्ने? विचार, सिद्धान्त, त्याग र संगठन निर्माणको राजनीति कि ‘मैले फलानोलाई हराएकै हो’, ‘मसँग यति शक्ति छ’ र ‘मलाई पनि भाग चाहिन्छ’ भन्ने गुटगत अहंकार?

कांग्रेसको वास्तविक शक्ति विमानस्थलमा जम्मा हुने भीडमा होइन, संकटको समयमा पार्टी र नेतृत्वको पक्षमा उभिने राजनीतिक चरित्रमा देखिनुपर्छ। सभापति वा पूर्वसभापति कुटिँदा मौन बस्ने अनि परिस्थिति फेरिएपछि स्वागतका नाममा शक्ति प्रदर्शन गर्ने प्रवृत्तिले पार्टीको नैतिक धरातल बलियो बनाउँदैन।

देउवा फर्किएपछि उनलाई सम्मान गर्नु गलत होइन। गलत हुन सक्छ—सम्मानलाई व्यक्तिगत स्वार्थ, गुटगत पुनर्स्थापना र आगामी भागबन्डाको राजनीतिक साधन बनाउनु।

कांग्रेसले अब गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। इतिहास बोकेको पार्टीले इतिहासको नाम मात्र होइन, इतिहासले सिकाएको राजनीतिक संस्कार पनि जोगाउनुपर्छ। अन्यथा बीपी, गणेशमान र सुवर्णशमशेरहरूको विरासत बोकेको कांग्रेस आफ्नै गुटगत स्वार्थ र अवसरवादी राजनीतिक संस्कृतिका कारण इतिहासमा कमजोर देखिने खतरा बढ्दै जानेछ।

अन्ततः प्रश्न देउवा विमानस्थलमा कति मानिसले स्वागत गरे भन्ने होइन। प्रश्न यो हो—देउवा संकटमा पर्दा उनीहरूको आवाज कहाँ थियो?

यही प्रश्नको इमानदार उत्तरबाट मात्रै कांग्रेसभित्रको आजको राजनीतिक चरित्र बुझ्न सकिन्छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्