नेताहरुलाई सत्ताको चिन्ता जनतालाई पेटको, पानी माग्दै २५ दिन हिँडेर मधेशबाट काठमाडौंसम्म

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ जेष्ठ २०८१, शुक्रबार
5 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

विद्या राई काठमाडौँ — सिभिल इन्जिनियर इन्द्रजित साफीको परिवार चुरेको फेदैमा बसोबास गर्छ । १८ जनाको उनको संयुक्त परिवारले पुस्तौंदेखि खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको छ । केही वर्षअघिसम्म वर्षदिन उत्पादन गरेको अन्नपातले उनको परिवारलाई तीन वर्षसम्म खान पुग्थ्यो ।

अचेल त्यति नै खेतबारीमा उब्जाएको अन्नपातले वर्षभरि पनि पुर्‍याउन हम्मेहम्मे पर्ने उनले सुनाए । जथाभावी चुरेको वन फडानी, अवैध क्रसर–धन्दा र गिट्टी–बालुवा दोहनले खानेपानी र सिंचाइका मुहान सुक्न थालेपछि उत्पादनमा पनि कमी आएको साफीले बताए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरका उनै साफी चुरे वनजंगल जोगाउन सरकार र सरोकारवालालाई आह्वान गर्दै मधेशबाट पैदल हिँडेर बिहीबार काठमाडौं आइपुगेका २३ जना सर्वसाधारणको नेतृत्व गर्नेमध्येका एक हुन् । नागरिकताविहीन संघर्ष समिति नेपालका राष्ट्रिय अध्यक्षसमेत रहेका उनले पैदल यात्रा हिँडेर आएका सर्वसाधारणलाई नागढुंगाबाट नेतृत्व गर्ने जिम्मा सम्हालेका हुन् । उनीसहित २४ जनाले माइतीघर आइपुगेर दबाबस्वरूप धर्ना थालेका छन् ।

काठमाडौंमा बसेर मधेशका मुद्दामा आवाज उठाउने उनले मधेशबाट पैदलयात्रा सुरू भएपछि राष्ट्रपति र गृहमन्त्रीलाई जानकारीसमेत गराएका थिए । ‘चुरे तथा वनजंगल संरक्षण अभियान, नेपाल’को नेतृत्वमा महिलासमेत सहभागी भएको लामो दूरीको यो पदैल यात्रा गर्नेमा सप्तरी, सिरहा, धनुषा, बारा र पर्साका चुरे अतिक्रमणबाट प्रभावितहरू छन् । काठमाडौं आइपुग्न उनीहरूले दैनिक ३५/४० किलोमिटरका दरले पैदलयात्रा गरेको बताए ।

जनकपुर उपमहानगरपालिका–१९ की ५० वर्षीया शान्तिदेवी यादवले चुरे दोहनले आफूहरूजस्ता भूमिहीनलाई गुजारा चलाउन समस्या भइरहेको बताइन् । उनी पनि पैदलै काठमाडौं आइपुगेकी हुन् । ‘हामी भूमिहीन हौं, चुरे, खोलानाला अतिक्रमण हुँदा हाम्रो टोलबस्तीमा खानेपानीको समस्या बढेको छ,’ उनले भनिन्, ‘वर्षात हुँदा डुबानको जोखिम छ, स्थिति बहुत खराब भइरहेको छ, सरकारले मतलब नै गर्दैन ।’खानेपानी सुकेर पिउन, खाना पकाउन, सरसफाइ तथा घरायसी काम र वस्तुभाउलाई खुवाउन सास्ती थपिएको साफीले बताए । ‘मुख्य रुपमा चुरे फडानी, चारनाथ र कमला नदीका साथै चुरेका जमिनमा ढुंगागिट्टीको दोहनले यस्तो समस्या आएको हो,’ उनले भने, ‘मापदण्ड अनुसार पाँच फिटमात्रै खन्नुपर्नेमा पालिका प्रमुख, उपप्रमुख र सिडियो मिलेर मापदण्डविपरीत ५० फिटभन्दा बढी खनेर निकालेका छन् ।’ यसले गर्दा जमिनमा पानीको सतह खलबलिएर पानीको मात्रा घटेको उनले बताए । कलधारा, ट्युबेल प्रयोग गरेर पानी पिउने मधेश बस्तीका स्थानीयलाई अचेल ८० देखि १ सय फिट गहिरो खन्दा पनि पानी भेट्टाउन मुस्किल भइरहेको छ । ‘पहिले २० देखि ३० फिट खन्दा नै कलबाट पानी आउँथ्यो,’ साफीले थपे, ‘अब आउन छाड्यो, मधेश बिस्तारै मरुभूमिमा परिणत हुँदैछ ।’

पछिल्लो दुई वर्षयता मधेशमा खानेपानीको समस्या बल्झँदै गएको उनले बताए । घरायसी काममा चाहिने पानी संकलन गर्न महिला, बालबालिका हिंडेर दुई–तीन किमि टाढासम्मका खोलाखोल्सी पुग्नुपर्छ । खानेपानी ओसारपसारमा समय दिनुपर्दा विद्यार्थीले विद्यालय छुटाउनु परिरहेको छ । कृषि उत्पादनमा गिरावट आएकाले युवा विदेशिनुपर्ने बाध्यता बढिरहेको छ । चुरे दोहनले गर्दा निम्तिएको खानेपानी अभावको समस्या र बिग्रंदो पर्यावरणबारे सरकार र सरोकारवालालाई ध्यानाकर्षण गराउन काठमाडौंसम्म आइपुगेको साफीले बताए ।

‘चुरे रहे पानी, पानी रहे हामी’ भन्ने नारासहित उनीहरूले गत वैशाख १६ देखि चुरे संरक्षण पैदल यात्रा सुरु गरेका थिए । चुरे, वनजंगल संरक्षण, दलित भूमिहीन, सुकुम्बासीहरूको भूमि अधिकार र अवैध उत्खनन तथा सिर्सिया लगायतका नदीको प्रदूषण एवं अतिक्रमणको विरोध गर्दै उनीहरू सप्तरी जिल्लाको भारदहदेखि बाराको पथलैया हुँदै काठमाडौंसम्मको पैदल यात्रा गरेर २५ औं दिन बिहीबार माइतीघर आइपुगेका हुन् ।

बिहीबार मध्यान्ह माइतीघर आइपुग्नासाथ उनीहरू धर्ना बसेका छन् । शुक्रबारबाट बिहान १० देखि ५ बजेसम्म धर्ना जारी राख्ने र मुख्य दलका केन्द्रीय कार्यालयमा १२ बुँदे सुधारका योजनासहित ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको साफीले बताए ।

पैदल यात्राको संयोजन गरेका अभियन्ता सुनिल यादवका अनुसार उनीहरूको ज्ञापनपत्रमा दुई वर्षभन्दा बढी वन क्षेत्रमा कार्यालय प्रमुख भएर बसेका कर्मचारीलाई तत्काल सरुवा गर्नुपर्ने, चुरे क्षेत्रका खोलामा हुने अवैध क्रसर धन्दा र गिट्टी–बालुवा दोहन रोक्न ठोस कदम चाल्नुपर्ने, मधेशलाई सुक्खा क्षेत्र घोषणा गरी डढेलो नियन्त्रणका योजना बनाउनुपर्ने माग रहेका छन् ।

सांकेतिक विरोधका रुपमा ‘चुरेलाई अतिक्रमणमुक्त गर’, ‘वनलाई डढेलोमुक्त बनाऊ’, ‘पानीका लागी रुख बचाउँ’, ‘सरकार पानी दे’ लगायत नारा टाँसिएको खाली बाल्टिन बोकेर उनीहरू काठमाडौं आइपुगेका हुन् । जथाभावी चुरे अतिक्रमणले मधेशमा बिग्रंदै गएको पर्यावरण जोगाउन यहाँका स्थानीय समुदाय र युवाले पटक–पटक आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको अभियन्ता यादवले बताए ।

स्थानीय औरही खोलाको अवैध उत्खनन रोक्न आवाज उठाउँदा धनुषाको श्रीपुरका इन्जिनियर ओमप्रकाश महतो (दिलीप) को २०७६ पुस २२ मा हत्या भएको थियो । नदीजन्य पदार्थको दोहन रोक्न विरोध गर्दा मारिएका कारण उनलाई प्रथम संरक्षण सहिद घोषणा गर्नुपर्ने माग पनि उनीहरूको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्