ठुलो मात्रामा उत्पादन गर्न र अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन उद्योगी–व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

Sagarmatha Post
Sagarmatha Post १७ माघ २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन आज गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यस अनुसारको व्यापार वृद्धि गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यम स्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने तयारीमा भएको जनाउनुभयो ।

पूर्वाधार विकासका क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउँदै अन्य विमानस्थलहरू विस्तारका साथै नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेकाले यी सबै उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि थालिएको स्पष्ट गर्नुभयो ।  “अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौँ । त्यो वास्तविक छैन । खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यापार मान्न सकिँदैन ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्नेछ । अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ ।”

नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफू सप्रिऊँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एस्क्पो भएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृत्रिम बौद्धिकताबारे नीतिगत स्पष्टता गरी कानुनी प्रबन्ध गर्ने र सूचना प्रविधि क्षेत्रको व्यावसायिक विकासका लागि सरकारले ल्याएका अध्यादेश उपयोगी हुने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष क्लेशकुमार अग्रवालले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशले उद्योग–व्यवसाय क्षेत्रमा सकारात्मक आशा प्रवाह भएको बताउनुभयो । नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्