काठमाडौं, साउन १४ | सगरमाथा पोष्ट
तारकेश्वर नगरपालिका–१० ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीलाई तीव्र बनाउँदै आवश्यक ५१ मध्ये २६ वटा प्रारम्भिक सूचक पूरा गरेको छ। हालसम्म कार्यक्रम सम्पन्न भएका तारकेश्वरका १० वडामध्ये वडा नं. १० पहिलो पटक सबैभन्दा अघि बढ्न सफल भएको हो। वडा नं. ११ मा भने अभिमुखीकरण कार्यक्रम अझै सञ्चालन हुन बाँकी रहेको छ।
यसै उपलब्धिसँगै वडा नं. १० मा बुधबार बाल अधिकारको सुनिश्चितता तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यले वडास्तरीय अभिमुखीकरण, सामूहिक प्रतिबद्धता, लगानी योजना निर्माण तथा प्रारम्भिक सूचक मापन कार्यक्रम सम्पन्न भएको छ।
तारकेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, वडा बाल अधिकार समिति, विद्यालय, स्वास्थ्य संस्था, महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बालमैत्री स्थानीय शासनका राष्ट्रिय सूचक, बाल अधिकार संरक्षण, बाल सहभागिता, सुरक्षित तथा समावेशी वातावरण निर्माण, बालमैत्री योजना तथा बजेट तर्जुमा र वडास्तरीय लगानी योजना निर्माण सम्बन्धी विषयमा विस्तृत अभिमुखीकरण गरिएको थियो। सहभागीहरूले बालमैत्री स्थानीय शासनलाई व्यवहारमै कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कुमार राई ले वडा नं. १० तारकेश्वरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने दाबी गरे। उनले आगामी असोज ७ गतेभित्र वडा घोषणा गर्ने लक्ष्य राखिएको जानकारी दिँदै त्यसका लागि आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको बताए।
तारकेश्वर नगरपालिकाले २०८३ मंसिर १३ गतेभित्र सम्पूर्ण नगरपालिकालाई ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’ घोषणा गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न सबै वडामा अभिमुखीकरण, प्रारम्भिक सूचक मापन, लगानी योजना निर्माण तथा आवश्यक तयारीका कार्यक्रम सञ्चालन भइरहेको नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाकी महिला विकास निरीक्षक बिमला कुमारी शर्मा ले जानकारी दिइन्। उनका अनुसार बालमैत्री शासन केवल औपचारिक घोषणा नभई बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता र समग्र विकास सुनिश्चित गर्ने दिगो स्थानीय शासन प्रणालीको आधार हो।
कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सचिव हरिश्चन्द्र घिमिरे ले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाका मापदण्ड, कानुनी व्यवस्था, स्थानीय तहको जिम्मेवारी तथा प्रभावकारी कार्यान्वयनका उपायबारे विशेष प्रशिक्षण दिएका थिए। उनले बालमैत्री शासनको सफल कार्यान्वयनका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
वडा अध्यक्ष कुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) तारकेश्वर–१० का सचिव नवराज भट्टराई, तारकेश्वर नगरपालिकाकी कार्यपालिका सदस्य शान्ता थपलिया, मानसिंह विद्यालयका प्रधानाध्यापक केदार गजुरेल, वडा सचिव पदमा गजुरेल, वडा सदस्य कजम महर्जन लगायत वडा सदस्य, कार्यपालिका सदस्य, शिक्षक, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बाल अधिकारमैत्री नीति, योजनाबद्ध लगानी र समुदायको सक्रिय सहभागितालाई केन्द्रमा राख्दै अघि बढेको तारकेश्वर–१० को पहलले नगरपालिकाको बालमैत्री शासन घोषणाको अभियानलाई थप गति दिएको सरोकारवालाहरूले बताएका छन्। यदि निर्धारित समयमै बाँकी सूचकहरू पनि पूरा भए, वडा नं. १० तारकेश्वरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा का रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।


fgdfg


प्रतिक्रिया दिनुहोस्