नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दी बढेको आरोप लगाउँदै नुवाकोटको पञ्चकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
आइतबार राप्रपा परित्याग गरेका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी नेतृत्वले एउटै विचार, सिद्धान्त र एजेण्डामा प्रतिबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको आरोप लगाएका छन्। उनीहरूले पार्टीभित्र पछिल्लो समय देखिएको गतिविधिप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी परित्याग गरेको बताएका छन्।
राजीनामा दिनेहरूमा पञ्चकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्रबहादुर कार्की, उपाध्यक्षद्वय गीता मिजार र शंकर थापा तथा सचिव जयराम थापालगायत पदाधिकारी र सदस्य छन्।
त्यसैगरी पञ्चकन्या गाउँपालिका–१ का अध्यक्ष मनोजकुमार राई, वडा नं. ३ का अध्यक्ष राजु कार्की, वडा नं. ४ का अध्यक्ष भक्तबहादुर अधिकारी र वडा नं. ५ का अध्यक्ष कर्णप्रसाद सिटौलालगायत पाँचवटै वडाका विभिन्न पदाधिकारी तथा सदस्यले पनि राप्रपाबाट अलग हुने निर्णय गरेका छन्।
राजीनामा दिने स्थानीय नेताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति असन्तुष्टि जनाउँदै पार्टीको मूल विचार, सिद्धान्त र राजनीतिक एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नेतृत्व असफल भएको आरोप लगाएका छन्। उनीहरूले पार्टीभित्र विचारभन्दा गुटगत स्वार्थ हावी हुँदै गएको दाबीसमेत गरेका छन्।
स्रोतका अनुसार राप्रपा परित्याग गरेका अधिकांश स्थानीय नेता तथा कार्यकर्ता डा. धवलशमशेर राणा सभापति रहने प्रस्तावित जय नेपाल पार्टीमा आबद्ध हुने तयारीमा छन्। यद्यपि उनीहरूको औपचारिक राजनीतिक निर्णय तथा आबद्धताको प्रक्रिया भने स्पष्ट हुन बाँकी छ।
राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृहजिल्लासमेत रहेको नुवाकोटमा स्थानीय तहका नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेपछि जिल्लाको राप्रपा संगठनमा यसको राजनीतिक प्रभाव पर्ने देखिएको छ।
एकैपटक ३३ जना पदाधिकारी तथा सदस्यले पार्टी परित्याग गरेपछि नुवाकोटमा राप्रपाको संगठनात्मक अवस्था र नेतृत्वप्रति स्थानीय तहमा रहेको असन्तुष्टिबारे समेत बहस सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस्