पिता गुमाएका मेस्सीलाई रोनाल्डोको सान्त्वना ‘तिमीलाई ठूलो अँगालो, बलियो रहनू, लियो

Sagarmatha Post
Sagarmatha Post २८ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

फुटबलका दुई महान् खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई समर्थकहरूले मैदानमा कट्टर प्रतिद्वन्द्वीका रूपमा हेर्ने गर्छन्। उनीहरूका समर्थकबीच सामाजिक सञ्जालमा पटक–पटक विवाद र प्रशंसक युद्ध हुने गरे पनि मैदानबाहिर भने उनीहरूबीच सधैँ आपसी सम्मान र सद्भाव देखिँदै आएको छ। त्यही सम्मान र आत्मीयता बुधबार फेरि देखिएको छ।

मेस्सीका पिता जर्ज मेस्सीको निधन भएपछि उनी अहिले कठिन समयबाट गुज्रिरहेका छन्। मेस्सीले सामाजिक सञ्जालमा आफ्ना दिवंगत पितालाई सम्झँदै भावुक सन्देश लेखेका थिए। मेस्सीको उक्त सन्देशमा रोनाल्डोले पनि प्रतिक्रिया जनाउँदै उनलाई सान्त्वना दिएका छन्। रोनाल्डोले लेखेका छन्, ‘यी कठिन समयमा तिमी र तिम्रो प्रियजनलाई ठूलो अँगालो। बलियो रहनू, लियो।’

मेस्सीले आफ्ना पिताको निधनले आफू स्तब्ध भएको र यो क्षतिलाई कसरी सामना गर्ने भन्ने आफूले बुझ्न नसकेको बताएका थिए। उनले आफ्ना सबैभन्दा ठूला प्रेरणाको स्रोत गुमाएको र संसार नै रोकिएजस्तो महसुस भइरहेको उल्लेख गरेका थिए। मेस्सीका पिता जर्जको गत साता ६८ वर्षको उमेरमा निधन भएको हो । करिब दुई दशकदेखि विश्व फुटबलमा आफ्नो वर्चस्व कायम गरेका रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धालाई फुटबल इतिहासकै चर्चित प्रतिद्वन्द्वितामध्ये एक मानिन्छ। तर, कठिन समयमा रोनाल्डोले मेस्सीप्रति देखाएको समर्थनले उनीहरूबीचको सम्बन्ध केवल मैदानको प्रतिस्पर्धामा सीमित नभएको पुनः देखाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्