राँझा (बाँके) । पुख्र्यौली पेसा त्यागेर श्रम र मजदुरीमार्फत आत्मसम्मानपूर्ण जीवन बिताउने प्रयासमा रहेको बाँकेको माहुत समुदाय अहिले पनि गरिबी, बेरोजगारी र राज्यको उपेक्षाबाट गुज्रिरहेको छ। डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा नेपालगन्जका गल्ली चहार्न थालेको वर्षौँ भइसकेको छ। तर, अपेक्षित काम नपाउँदा उहाँको दैनिकी निराशाजनक बनेको छ।
केलारामका अनुसार मागेर जीविकोपार्जन गर्ने पुख्र्यौली परम्पराका कारण उहाँका पुर्खा र सिङ्गो समुदायलाई ‘मगन्ता’ भनिन्थ्यो। अहिले उक्त पेसा छाडेर नयाँ पहिचान र जीविकोपार्जनको बाटो खोज्नुपर्दा समुदायले अनेक कठिनाइ सामना गरिरहेको छ। उहाँले माहुत समुदाय चरम गरिबी, अभाव र पहिचानको सङ्कटबाट गुज्रिरहेको बताउनुभयो।
बाँकेको हिरमिनिया र नेपालगन्ज उपमहानगरपालिका–१९ को वसुदेवपुरलगायत बस्तीमा माहुत समुदायका करिब २०० घरपरिवार र एक हजारको हाराहारीमा जनसङ्ख्या रहेको छ। विगतमा नागरिकतामा ‘मगन्ता’ थर लेख्ने गरिए पनि पछिल्लो पुस्ताले आत्मसम्मानमा ठेस पुग्ने भन्दै आफ्नो नामको पछाडि ‘माहुत’ लेख्न थालेको छ। यद्यपि, पहिचानमा आएको परिवर्तनले उनीहरूको आर्थिक तथा सामाजिक अवस्थामा अपेक्षित सुधार ल्याउन सकेको छैन।
शिक्षा, स्वास्थ्य र आधारभूत सुविधाको अभाव
माहुत समुदायका अधिकांश बालबालिका अझै गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा छन्। स्वास्थ्य सेवाको अभावले विशेषगरी महिलाको स्वास्थ्य अवस्था प्रभावित भएको छ। आर्थिक विपन्नताका कारण समुदायका सदस्यलाई दैनिक आवश्यकता पूरा गर्नसमेत कठिनाइ हुने गरेको छ।
नेपालगन्ज–१९ सुइयागाउँका ललवा माहुतका अनुसार समुदायका सदस्यसँग खेतीपाती गर्ने आफ्नै जग्गा, रोजगारीका लागि आवश्यक सीप तथा व्यवसाय सञ्चालन गर्न पुँजीको अभाव छ। बस्तीमा स्वच्छ खानेपानी र सडकजस्ता आधारभूत पूर्वाधारसमेत पर्याप्त छैनन्।
उहाँले स्थानीय सरकारले समुदायको विकासका लागि विनियोजन गरेको बजेट कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारीसमेत आफूहरूले पाउन नसकेको बताउनुभयो। सीमान्तकृत समुदाय राजनीतिक तथा सामाजिक पहुँचका लागि सङ्घर्ष गरिरहेका बेला माहुत समुदाय भने आफ्नो पहिचान स्थापित गर्नसमेत कठिनाइ भोगिरहेको उहाँको भनाइ छ।
नयाँ पुस्तामा श्रमप्रतिको विश्वास
माहुत समुदायको नयाँ पुस्तामा भने पुख्र्यौली पेसाप्रतिको निर्भरता घट्दै गएको छ। मागेर जीविकोपार्जन गर्नुभन्दा श्रम र मजदुरी गरेर आत्मसम्मानका साथ बाँच्नुपर्छ भन्ने सोच युवापुस्तामा विकास हुँदै गएको छ।
डुडुवा गाउँपालिकाकी कार्यपालिका सदस्यसमेत रहनुभएकी समुदायकी अगुवा जवन्ती माहुतका अनुसार समुदायले अहिले माग्ने पेसा प्रायः छाडिसकेको छ। खेतीकिसानी र ज्यालामजदुरीबाट गुजारा चलाउँदै आए पनि शिक्षा, रोजगारी र राज्यबाट प्राप्त हुने अवसरमा समुदायको पहुँच कमजोर रहेको उहाँले बताउनुभयो।
जवन्तीले नयाँ पुस्तामा आएको सकारात्मक परिवर्तनलाई राज्यले अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार समुदायको आर्थिक अवस्था सुधार गर्न रोजगारीका अवसर, सीपमूलक तालिम र आयआर्जनका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।
सरकारी पहिचान र सुविधाको पर्खाइ
अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका रूपमा रहेको माहुत समुदाय हालसम्म राज्यको आधिकारिक निकायमा सूचीकृत हुन नसकेको बताइएको छ। यसले गर्दा लक्षित वर्गका लागि उपलब्ध हुने विशेष सुविधा तथा सामाजिक सुरक्षाका कार्यक्रमबाट समुदाय वञ्चित हुँदै आएको छ।
डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले पनि माहुत समुदायले चरम अभाव सामना गरिरहेको स्वीकार गर्नुभयो। उहाँका अनुसार समुदायले पुख्र्यौली पेसा छाडेर नयाँ जीवनशैली अपनाउने प्रयास गरे पनि सरकारी निकायमा आधिकारिक पहिचान नहुँदा लक्षित सेवासुविधा उपलब्ध गराउन कठिनाइ भएको छ।
वडाध्यक्ष मिश्रले पुख्र्यौली पेसा त्यागेर श्रममा आधारित जीवनयापन गर्न खोजिरहेको समुदाय अहिले आफूलाई अल्पसङ्ख्यकका रूपमा सूचीकृत गराउन राज्यसँग पहल गरिरहेको बताउनुभयो।
पुख्र्यौली पेसा त्यागेर नयाँ पहिचान र आत्मसम्मानसहित जीवनयापन गर्न खोजिरहेको माहुत समुदायका लागि अब सरकारी मान्यता, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र आधारभूत पूर्वाधारको सुनिश्चितता आवश्यक देखिएको छ। समुदायमा विकसित हुँदै गएको सकारात्मक सोचलाई व्यवहारमा उतार्न राज्यका निकायले लक्षित कार्यक्रम र अवसर सिर्जना गर्नु अपरिहार्य छ।


प्रतिक्रिया दिनुहोस्