१६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अघ्र्य दिएर रातभर जाग्राम बसेसँगै समापन

Sagarmatha Post
Sagarmatha Post १८ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ। भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ्य अर्पण गरी रातभर जाग्राम बसेसँगै सम्पन्न भएको छ। धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने उद्देश्यले गरिने यस व्रतबाट दुःख, दारिद्र्य तथा अशान्ति हटेर सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। विशेषगरी महिलाले यो व्रत लिने परम्परा रहिआएको छ।

विभिन्न धार्मिक ग्रन्थमा भगवान् शिवले देवी पार्वतीलाई महालक्ष्मी व्रतको विधि बताउनुभएको उल्लेख छ। यस व्रतको प्रभावले मृत्युपछि दिव्यधाम प्राप्त हुने जनविश्वाससमेत रहेको छ। महालक्ष्मी व्रतकथामा देवराज इन्द्रले महालक्ष्मीको व्रत तथा पूजाआराधना गरी महालक्ष्म्याष्टक स्तोत्र रचना गरेको उल्लेख छ। उक्त स्तोत्र बिहान, मध्याह्न र साँझ गरी दिनमा तीन पटक पाठ गरेमा धनधान्य, सुख–समृद्धि प्राप्त हुनुका साथै शत्रुको नाश हुने धार्मिक विश्वास छ।

वैदिक परम्पराअनुसार प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा तथा कार्तिक कृष्ण औँसीमा विशेष रूपमा महालक्ष्मीको पूजा–आराधना गर्ने गरिन्छ। त्यसैगरी आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दुर्गा पक्षमा महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको समेत विशेष पूजा तथा आराधना गर्ने परम्परा छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्