काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु भएको छ। केन्द्रीय कार्यसमितिको बैठकले बन्दसत्रमा प्रस्तुत गरिने एजेन्डा पारित गरेपछि प्रतिनिधिहरू विभिन्न समूहमा विभाजित भएर छलफलमा सहभागी भएका हुन्। कांग्रेसले बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन क्लस्टरमा विभाजन गरेको छ। सुरुमा पहाड क्लस्टरको बन्दसत्र सञ्चालन गरिएको छ। प्रतिनिधिहरूको छलफलका लागि हिमाल, पहाड र तराई–मधेस हल छुट्याइएको छ।
हिमाल हलमा कोशी प्रदेशका एक हजार ११७, कर्णालीका २९९ र गण्डकीका ७१५ गरी दुई हजार ३३१ प्रतिनिधि सहभागी छन्। पहाड हलमा बागमतीका एक हजार २१७ र लुम्बिनीका एक हजार नौ गरी दुई हजार २२६ प्रतिनिधि सहभागी छन्। त्यस्तै, तराई–मधेस हलमा मधेस प्रदेशका एक हजार २५६, सुदूरपश्चिमका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ सङ्गठनका २२५ प्रतिनिधि सहभागी छन्।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेस गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापतिले प्रस्तुत गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्