काठमाडौँ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ नेपालमा आगामी बिहीबार असोज २२ गते विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने यो दिवसले आँखाको नियमित हेरचाह, समयमै परीक्षण तथा गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिँदै आएको छ।
यस वर्षको अभियानले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार तथा सम्बन्धित निकायलाई सबै नागरिकका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। विद्यालय, कार्यस्थल तथा नीति निर्माण तहमा आँखा परीक्षण र जनचेतनामूलक कार्यक्रम विस्तार गर्नसमेत जोड दिइएको छ।
बालबालिका, विद्यार्थी, कर्मचारी, मजदुर, किसान तथा सवारी चालकसहित अधिकांश मानिसको दैनिक जीवन स्पष्ट दृष्टिमा निर्भर हुन्छ। तर आँखाको समस्या सधैँ पीडा वा असहजताबाट सुरु नहुने भएकाले दृष्टि कमजोर हुँदै जाँदा पनि सामान्य ठानेर बेवास्ता गर्ने प्रवृत्ति रहेको नेत्र विशेषज्ञहरू बताउँछन्।
नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न सङ्घसंस्थाले असोज २२ गते विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। अन्तर्राष्ट्रिय संस्था ‘आइएपिबी’ले पनि अक्टोबर ८ मा ‘आँखालाई माया गरौँ’ अभियान सञ्चालन गर्दैछ। आइएपिबीका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस अझै आवश्यक आँखा स्वास्थ्य सेवा तथा उपचारको पहुँचबाट बाहिर छन्।
नेपालमा आँखा उपचारको पहुँच विस्तार
नेपाल नेत्रज्योति सङ्घका अनुसार पछिल्लो दशकमा नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको छ। सन् १९७८ मा सङ्घ स्थापना हुँदा सीमित पूर्वाधार र न्यून विशेषज्ञ जनशक्तिबाट सुरु भएको आँखा सेवा अहिले विभिन्न भूगोल र समुदायसम्म पुगेको छ।
आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ सेवा तथा समुदायमा आधारित कार्यक्रम विस्तार भएपछि उपचारको पहुँच बढेको सङ्घले जनाएको छ। यसको सकारात्मक प्रभाव अन्धोपनको अवस्थामासमेत देखिएको छ। सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन ०.८४ प्रतिशत रहेकामा सन् २०२२ को आरएएबी सर्वेक्षणअनुसार यो घटेर ०.२८ प्रतिशतमा पुगेको छ।
तर अन्धोपनको दर घट्दैमा आँखासम्बन्धी सबै समस्या समाधान भएका छैनन्। ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहजन्य दृष्टि समस्या, उमेरसँग सम्बन्धित रोग तथा दृष्टिदोष अहिले पनि चुनौतीका रूपमा रहेका छन्। बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखाको स्वास्थ्यमा थप जोखिम सिर्जना गरेको छ।
नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार नेपालले आँखा उपचारमा उल्लेखनीय प्रगति गरे पनि अब रोकथाम, प्रारम्भिक पहिचान र सेवाबाट वञ्चित जनसङ्ख्यासम्म पहुँच विस्तारलाई प्राथमिकता दिन आवश्यक छ। आँखाको समस्या गम्भीर भएपछि मात्र अस्पताल जाने प्रवृत्तिमा परिवर्तन ल्याउँदै नियमित आँखा परीक्षणलाई स्वास्थ्य संस्कारका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ।
सङ्घका महासचिव भरतबहादुर चन्दले अस्पताल तथा उपचार केन्द्रको विस्तारसँगै सेवा नपुगेका समुदाय पहिचान गरी आवश्यकताअनुसार सेवा पुर्याउनुपर्ने बताउनुभयो। आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्दै समुदायमै प्रारम्भिक परीक्षण, प्रभावकारी रिफरल प्रणाली तथा दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने उहाँको भनाइ छ।
सङ्घका अध्यक्ष प्रा. डा. चेतराज पन्तले आँखा स्वास्थ्यलाई अस्पताल र उपचारको विषयमा मात्र सीमित गर्न नहुने बताउनुभयो। उहाँका अनुसार राम्रो दृष्टि शिक्षा, रोजगारी, उत्पादकत्व र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएकाले आँखा स्वास्थ्यमा गरिएको लगानीलाई मानव विकासमा गरिएको लगानीका रूपमा बुझ्नुपर्छ।
पाँच करोडभन्दा बढीलाई सेवा
नेत्रज्योति सङ्घका अनुसार हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सङ्घले २८ आँखा अस्पताल र ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपाली तथा विदेशी नागरिकलाई सेवा दिँदै आएको छ।
दृष्टि सुधारले विद्यालयमा विद्यार्थीको सिकाइ तथा कार्यस्थलमा उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पार्ने विभिन्न तथ्याङ्कले देखाएका छन्। त्यसैले नेपालका लागि विश्व दृष्टि दिवस अन्धोपन न्यूनीकरणमा हासिल उपलब्धि स्मरण गर्ने अवसर मात्र नभई आगामी प्राथमिकता निर्धारण गर्ने समय पनि हो।
अब गरिबी, भौगोलिक विकटता, जनचेतनाको कमी वा स्वास्थ्य सेवाको अभावका कारण उपचार गर्न सकिने दृष्टि गुमाउने अवस्था अन्त्य गर्न आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। आँखाको हेरचाह समस्या देखिएपछि मात्र गर्ने अभ्यासबाट नियमित परीक्षण र रोकथामतर्फ जानुपर्ने आवश्यकता छ।
बालबालिकाको दृष्टिप्रति अभिभावक र विद्यालय सचेत हुनुपर्ने, ज्येष्ठ नागरिक तथा मधुमेहलगायत जोखिममा रहेका व्यक्तिले नियमित आँखा परीक्षणलाई प्राथमिकता दिनुपर्ने विशेषज्ञहरूको सुझाव छ। दृष्टिमा सामान्य परिवर्तन देखिए पनि त्यसलाई बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थामा पुग्न आवश्यक छ।
दृष्टि जोगाउनु स्वास्थ्यको विषय मात्र नभई जीवनका अवसर जोगाउनु पनि हो। बालबालिकाको दृष्टि जोगिँदा उसको सिकाइ र भविष्य सुरक्षित हुन्छ भने श्रमिकको दृष्टि जोगिँदा रोजगारी र परिवारको आयसमेत सुरक्षित हुन्छ। त्यसैगरी ज्येष्ठ नागरिकको दृष्टि जोगिँदा उनको आत्मनिर्भरता र सम्मान कायम रहन्छ। त्यसैले विश्व दृष्टि दिवसको सन्देशलाई एकदिने अभियानमा सीमित नगरी नियमित आँखा परीक्षण, समयमै उपचार र सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवाको सुनिश्चिततातर्फ अघि बढ्न आवश्यक छ।


प्रतिक्रिया दिनुहोस्