काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताउनुभएको छ। महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावना समेट्दै अघि बढ्ने उहाँको भनाइ छ। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले करिब आठ दशकको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका विभिन्न संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोड्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो।
२०८२ फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले राष्ट्रिय हित र मुलुकको सफलताका लागि आवश्यक विषयमा सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताउनुभयो। महत्वपूर्ण राष्ट्रिय मुद्दामा राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
शर्माले जलवायु परिवर्तनले नेपालमा पारिरहेको प्रभाव, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने नीति राज्यले अवलम्बन गर्नुपर्ने भन्दै उहाँले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताउनुभयो।
उहाँले नेपालभित्र र विदेशमा रहेका नेपालीबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने धारणा राख्दै विदेशमा रहेका नेपाली नेपालको विकासमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा बढ्दै गएको आपसी आक्रोशप्रति चिन्ता व्यक्त गर्दै शर्माले अहिले नेपाली समाजमा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताउनुभयो। भूगोललाई मात्र नभई नेपालीको मनलाई समेत जोड्नुपर्ने उहाँको धारणा थियो।
विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रज, सहिद परिवारदेखि जेनेजी पुस्तासम्मको सहभागिता रहेको बताउनुभयो। करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवाको रहेको भन्दै उहाँले यसलाई पार्टीको नयाँ ऊर्जाका रूपमा व्याख्या गर्नुभयो।
परम्पराको सम्मान गर्दै नयाँ सोच, दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै शर्माले महाधिवेशनले पार्टीलाई संगठनात्मक रूपमा थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने आधार महाधिवेशनले तयार गर्ने उहाँको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्