नयाँ पुस्ताका प्रश्नको उत्तर दिन सक्ने कांग्रेस बनाउनुपर्छ : सभापति गगन थापा

Sagarmatha Post
Sagarmatha Post १८ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका प्रश्नको उत्तर दिएर मात्र अब कांग्रेसलाई टिकाउन नसकिने बताउनुभएको छ। उहाँले पार्टीको १५औँ महाधिवेशनबाट आजका पुस्ताले उठाएका प्रश्नको जवाफ दिन सक्ने कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

महाधिवेशनमा सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्नै पार्टीभित्र बसेर प्रश्न र उत्तर तयार गर्ने प्रवृत्तिबाट बाहिर निस्कनुपर्ने बताउनुभयो। आजका प्रश्न बुझ्न कांग्रेसले पार्टीको घेराभन्दा बाहिर पुगेर नयाँ पुस्तासँग संवाद गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले कांग्रेससँग आबद्ध नभएको १८ वर्षको युवासँग संवाद गरेर उसले भोगिरहेका समस्या र अपेक्षा बुझ्नुपर्ने बताउनुभयो। २००७, २०४६ तथा २०६२/६३ सालका राजनीतिक आन्दोलनमा सहभागी नभए पनि नयाँ पुस्ताले ती ऐतिहासिक घटनालाई सम्मान गर्ने उहाँले उल्लेख गर्नुभयो।

तर, आजको युवाका प्राथमिकता फरक रहेको थापाले बताउनुभयो। गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ कि सकिँदैन, शिक्षा हासिल गरेपछि नेपालमै आफ्नो जीविकोपार्जन गर्न सक्ने राम्रो रोजगारी पाइन्छ कि पाइँदैन भन्ने प्रश्न अहिलेको पुस्ताको मुख्य चिन्ता रहेको उहाँले बताउनुभयो।

विगतमा जनताले उठाएका प्रश्नको उपयुक्त जवाफ कांग्रेससँग भएकै कारण पार्टी लामो समयसम्म जनतामाझ टिक्न सफल भएको उल्लेख गर्दै थापाले अब विगतका उपलब्धि र प्रश्नको मात्र चर्चा गरेर पार्टी अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो। कांग्रेसले समयअनुसार नयाँ प्रश्न पहिचान गरी त्यसको समाधान दिन सक्ने राजनीतिक शक्ति बन्नुपर्ने उहाँको भनाइ थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्