दसैँ नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल बढ्यो

Sagarmatha Post
Sagarmatha Post १९ आश्विन २०८३, सोमबार
2 Min Read
Aa

मुस्ताङ। दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल बढ्न थालेको छ। यसै क्रममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान जोमसोम आइपुगेका छन्। उपल्लो मुस्ताङबाट समेत शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ।डोल्पाका व्यापारी शेरबहादुर रोकायाका अनुसार पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर उनी शनिबार साँझ जोमसोम आइपुगेका हुन्। डोल्पाबाट जोमसोमसम्मको यात्रा पूरा गर्न उनलाई एक साताभन्दा बढी समय लागेको थियो। रोकायाले विगत ३० वर्षदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आएको जानकारी दिनुभयो।

डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते जोमसोमतर्फ हिँडेका रोकाया असोज १७ गते साँझ जोमसोम आइपुगेका हुन्। हाल भेडाच्याङ्ग्रा घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएका छन्।रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउने पदमार्गमा बाक्लो हिउँ जम्नुका साथै भारी वर्षा र हिमपातका कारण यात्रा निकै कठिन बनेको थियो। जोखिमपूर्ण बाटो र अत्यधिक चिसोका बीच हिउँ छिचोल्दै टोलीले भेडाच्याङ्ग्रा जोमसोम ल्याएको हो।

उनले माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट भेडाच्याङ्ग्रा खरिद गरी मुस्ताङ ल्याएको बताउनुभयो। नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने च्याङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै भेडाच्याङ्ग्रा खरिद गर्नुपरेको उहाँको भनाइ छ।यस वर्ष डोल्पाबाट करिब आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको रोकायाले जानकारी दिनुभयो। गत वर्ष भने डोल्पाबाट ११ हजारभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ ल्याइएको थियो। यस वर्षको सङ्ख्या गत वर्षको तुलनामा कम हुने देखिएको उहाँले बताउनुभयो।

गत वर्ष दसैँमा व्यापारबाट आंशिक घाटा व्यहोरे पनि यसपटक ठूलो लगानी गरेर भेडाच्याङ्ग्रा ल्याएको रोकायाले बताउनुभयो। बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा भेडाच्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने उहाँको चिन्ता छ।“हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ। दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो,” रोकायाले भन्नुभयो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्