रबिन थपलिया । काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको प्रतिस्पर्धामा काठमाडौं क्षेत्र नं। ६ का पूर्व क्षेत्रीय सभापति तथा तारकेश्वर–२ निवासी स्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेसको महाधिवेशन स्थलस्थित मिडिया सेन्टरबाट खड्गीले सभापति पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई ‘विवेकको मत’ प्रयोग गरी आफूलाई विजयी गराउन आग्रह गरेका हुन्।
सभापति पदमा गगन थापाले पनि उम्मेदवारी दिने तयारी गरिरहेका बेला खड्गीको उम्मेदवारी घोषणालाई कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धामा अर्को महत्वपूर्ण र अप्रत्याशित राजनीतिक प्रवेशका रूपमा हेरिएको छ।
चार दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय खड्गीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको बताएका छन्। विद्यार्थी राजनीतिबाट पार्टी संगठनको मूलधारमा प्रवेश गरेका उनी २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा समेत प्रत्यक्ष रूपमा सहभागी भएका थिए।
खड्गीका अनुसार उनी २०४६ सालमा अस्कल क्याम्पसबाट होमराज दाहालको नेतृत्वमा लोकतान्त्रिक आन्दोलनमा सहभागी भएका थिए। त्यसयता कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन र पार्टीको आन्तरिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएको उनको भनाइ छ।
कांग्रेस संगठनभित्र वडा तहदेखि क्षेत्रीय नेतृत्वसम्म जिम्मेवारी सम्हालेका खड्गीले वडा उपसभापति, वडा सभापति हुँदै काठमाडौं क्षेत्र नं। ६ को क्षेत्रीय सभापतिको जिम्मेवारी दुई पटक सम्हालिसकेका छन्।
लामो राजनीतिक अनुभवलाई आफ्नो उम्मेदवारीको आधार बनाउँदै खड्गीले कांग्रेसको नेतृत्व केवल गुटगत समीकरण र शक्तिको जोडघटाउबाट नभई कार्यकर्ताको भावना, संगठनप्रतिको निष्ठा र लोकतान्त्रिक संस्कारबाट तय हुनुपर्ने धारणा अघि सारेका छन्।
उनको उम्मेदवारीले कांग्रेसभित्र पछिल्लो समय तीव्र बन्दै गएको प्यानल, समूह र नेतृत्वको ध्रुवीकरणबीच वैकल्पिक दाबीको सम्भावनालाई समेत सतहमा ल्याएको छ।
तारकेश्वर–२ का स्थायी बासिन्दा खड्गीले आफू कुनै सीमित समूहको स्वार्थ बोकेर नभई चार दशकको राजनीतिक अनुभव र संगठनमा गरेको योगदानका आधारमा महाधिवेशन प्रतिनिधिसामु मत माग्न आएको बताएका छन्।
सभापति पदमा गगन थापासहित अन्य आकांक्षीहरूबीच प्रतिस्पर्धाको तयारी भइरहेका बेला खड्गीको उम्मेदवारीले कांग्रेसको आगामी नेतृत्व चयनलाई थप पेचिलो बनाउने संकेत देखिएको छ।
‘विवेकको मत’ आफ्नो पक्षमा पार्ने दाबीका साथ मैदानमा उत्रिएका खड्गीले अब महाधिवेशन प्रतिनिधिको मतबाट आफूलाई परीक्षण गर्ने चुनौती स्वीकार गरेका छन्।


प्रतिक्रिया दिनुहोस्