एनपिएलका लागि कीर्तिपुर मैदानको स्तरोन्नति अन्तिम चरणमा

Sagarmatha Post
Sagarmatha Post २१ आश्विन २०८३, बुधबार
3 Min Read
Aa

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिएसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण, दर्शक व्यवस्थापन तथा अन्य तयारीका कामलाई तीव्रता दिइएको छ ।

प्रतियोगिताको हरेक संस्करण थप व्यवस्थित र बृहत् बन्दै गएकाले यसपटक दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको सचिव खड्काले बताउनुभयो । “तयारीको अन्तिम चरणमा छौँ । प्रतियोगिता राम्रोसँग सम्पन्न गर्नुपर्ने अपेक्षा धेरै छ । प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ,” उहाँले रासससँग भन्नुभयो, “दसैँसम्म सबै काम सम्पन्न गरेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना छ ।”

गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्यालाई सुधार गर्दै यसपटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन् । एनपिएलका खेलमा दर्शकको चाप बढ्दै गएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता वृद्धि गर्ने तयारी भइरहेको क्यानले जनाएको छ ।

मैदान परिसरमा थप दर्शक अटाउन सकिने स्थान पहिचान गरी आवश्यक संरचनात्मक सुधारको काम भइरहेको सचिव खड्काले जानकारी दिनुभयो । त्यस्तै, मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको उहाँले बताउनुभयो । टिकट लिएर मैदान पुगेका दर्शकलाई प्रवेशदेखि खेल अवलोकन गरी फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ ।

गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्तता तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नुपरेको थियो । यसपटक ती समस्या दोहोरिन नदिन आवश्यक तयारी अघि बढाइएको सचिव खड्काले बताउनुभयो ।

दसैँलगत्तै एनपिएल

दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुनसक्ने आकलन गरिए पनि क्यान भने यस विषयमा धेरै चिन्तित देखिँदैन । नेपाली क्रिकेटको ‘फ्यान बेस’ बलियो रहेकाले चाडपर्वको समय भए पनि दर्शकको उत्साहमा कमी नआउने सचिव खड्काको विश्वास छ ।

उहाँका अनुसार एनपिएलको मिति तय गर्दा अन्तरराष्ट्रिय क्रिकेट तथा अन्य फ्रेन्चाइज लिगको तालिका र विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो । यी सबै पक्षलाई ध्यानमा राख्दा यस वर्ष दसैँ–तिहारको बीचको समय प्रतियोगिता आयोजनाका लागि उपयुक्त देखिएको उहाँले बताउनुभयो ।

तेस्रो संस्करणमा सहभागी टोलीले अन्तरराष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गर्ने क्रमसमेत तीव्र पारेका छन् । विदेशी खेलाडीको सहभागिताले यसपटक एनपिएलप्रति दर्शकको आकर्षण अझ बढ्ने क्यानको अपेक्षा छ ।

टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई खेल मैदानसम्म आकर्षित गर्ने सचिव खड्काले बताउनुभयो ।

“यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन् । टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ,” उहाँले भन्नुभयो ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्