जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले १० वर्षमुनिका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउन औषधि, शल्यक्रिया वा तौल घटाउने उपकरण प्रयोग नगर्न सुझाव दिएको छ । बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या नियन्त्रण गर्न डब्लुएचओले पहिलोपटक जारी गरेको निर्देशिकामा स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरिएको हो ।
डब्लुएचओका अनुसार ० देखि ९ वर्ष उमेर समूहका बालबालिकामा मोटोपन उपचारका लागि औषधि, बेरियाट्रिक शल्यक्रिया तथा तौल घटाउने उपकरण प्रयोग गर्न उपयुक्त हुँदैन । यस्तै, १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा निगरानीसहित सञ्चालन गरिने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्र स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिनेछ ।
अत्यधिक मोटोपन भएका किशोरकिशोरीका हकमा भने कडा चिकित्सकीय मापदण्ड पूरा भएमा बेरियाट्रिक शल्यक्रियाको विकल्प अपनाउन सकिने डब्लुएचओले जनाएको छ । विशेषगरी टाइप–२ मधुमेह वा उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या देखिएका तथा खानपान र जीवनशैलीमा सुधार गर्दा पर्याप्त लाभ नपुगेका अवस्थामा यस्तो शल्यक्रियाबारे विचार गर्न सकिनेछ ।
बालबालिका र वयस्कका लागि मोटोपनसम्बन्धी उपचारमा भने डब्लुएचओको सिफारिस फरक छ । सन् २०२५ डिसेम्बरमा जारी वयस्कसम्बन्धी निर्देशिकामा ओजेम्पिक र माउन्जारोजस्ता जीएलपी–१ वर्गका औषधिसहित तौल घटाउन तथा मधुमेह नियन्त्रणमा प्रयोग हुने औषधि उपयोग गर्न सकिने उल्लेख गरिएको थियो ।
डब्लुएचओका अनुसार सन् २०२४ मा विश्वभर ५ देखि ९ वर्ष उमेर समूहका करिब ७ करोड बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका करिब १० करोड किशोरकिशोरी मोटोपनबाट प्रभावित थिए । पाँचदेखि १९ वर्ष उमेर समूहमा मोटोपनको दर सन् १९९० मा २ प्रतिशत रहेकामा सन् २०२४ मा बढेर ८ प्रतिशत पुगेको छ ।
डब्लुएचओको पोषण तथा खाद्य सुरक्षा विभागकी निर्देशक लुज मारिया डे रेगिलले मोटोपनको समस्या विश्वका सबै क्षेत्रमा बढिरहेको बताउनुभएको छ । उहाँका अनुसार कम तथा मध्यम आय भएका देशमा मोटोपनको समस्या तीव्र रूपमा बढिरहेको छ भने केही उच्च आय भएका देशमा यसको वृद्धि रोकिए पनि समस्या अझै उच्च दरमा रहेको छ ।
डब्लुएचओले बालबालिका तथा किशोरकिशोरीमा मोटोपनसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । चिन्ता, डिप्रेसन र न्यून आत्मसम्मानका कारण अस्वस्थ खानपान तथा शारीरिक निष्क्रियता बढ्न सक्ने भन्दै डब्लुएचओले मोटोपन भएका बालबालिकाले सामाजिक लाञ्छना र बुलिङको सामना गर्नुपर्ने जोखिमप्रति समेत ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया दिनुहोस्