काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने बताउँदै राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा राष्ट्रपति पौडेलले समृद्धिको राष्ट्रिय लक्ष्यलाई व्यवहारमा कार्यान्वयन गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र नेतृत्वदायी भूमिकामा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाली अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । महासङ्घमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र मुलुकको प्रगतिसँग जोडिएको बताउँदै उहाँले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्ने बताउनुभयो । सरकार र निजी क्षेत्रबीचको विश्वास तथा सहकार्यले आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्ने उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले आगामी दिनमा उत्पादन वृद्धि, निर्यात प्रवर्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा रहेका सम्भावनालाई परिणाममुखी रूपमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
देशको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी, अवसर र उद्यमशीलताको वातावरण सिर्जना गर्नु साझा दायित्व भएको राष्ट्रपति पौडेलले बताउनुभयो । डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान अवस्थामा महासङ्घले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा तथा उद्यमलाई विश्व बजारमा पुर्याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्