बालेनको भारत भ्रमणले नेपाल–भारत सम्बन्धको सुषुप्त तनाव अन्त्य गर्‍यो : सुवेदी

Sagarmatha Post
Sagarmatha Post ८ मंसिर २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं । परराष्ट्र मामिलाका जानकार तथा भू–राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा विगतदेखि कायम रहेको सुषुप्त तनाव अन्त्य गर्न मद्दत पुगेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित ‘प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण : उपलब्धि, कूटनीतिक सन्तुलन र नेपालको राष्ट्रिय हित’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै सुवेदीले प्रधानमन्त्रीको भ्रमण आर्थिक तथा रणनीतिक दृष्टिकोणले उपलब्धिमूलक रहेको टिप्पणी गरे।

नेपाल र भारतबीचको सम्बन्ध दुवै देशका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देखिएको सुषुप्त तनाव प्रधानमन्त्री बालेनको भ्रमणपछि अन्त्य भएको धारणा राखे। ‘परराष्ट्र सम्बन्धमा भरसक प्रतिपक्ष हुनु हुँदैन,’ उनले भने, ‘सीमा र ईपीजीजस्ता प्राविधिक विषयलाई भ्रमणको सुरुवाती एजेन्डा बनाउनु हुँदैन भन्ने मेरो सुझाव थियो। प्रधानमन्त्री बालेनको भ्रमणमा त्यहीअनुसार काम भएकोमा खुसी छु।’ उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अब निष्क्रिय अवस्थामा पुगेको भन्दै त्यसप्रति सन्तोष व्यक्त गरे।

भ्रमणका क्रममा भएका विभिन्न सम्झौताको चर्चा गर्दै सुवेदीले नेपाललाई उपलब्ध गराउने सहमति भएको बन्दरगाह इन्धन आपूर्तिका लागि ‘गेमचेन्जर’ बन्न सक्ने दाबी गरे। पेट्रोलियम पाइपलाइन विस्तार तथा आर्थिक र रणनीतिक क्षेत्रमा भएका सहमतिहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपालले ती अवसरबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिए। विगतका नेपाली कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धको आर्थिक सम्भावनालाई पर्याप्त महत्त्व नदिएको उनको आरोप थियो। पशुपतिनाथ र मुक्तिनाथजस्ता धार्मिक तथा सांस्कृतिक सम्पदालाई तीर्थाटन र पर्यटनको माध्यमबाट प्रभावकारी रूपमा प्रवर्द्धन गर्न नसकिएको उनले बताए।

‘हिजोका प्रधानमन्त्रीहरूले पशुपतिनाथ, मुक्तिनाथलगायतका सम्पदालाई तीर्थाटनका रूपमा बजारीकरण गर्न सकेनन्,’ उनले भने, ‘प्रधानमन्त्री बालेनले तीर्थाटनको क्षेत्रमा महत्त्वपूर्ण काम गर्नुभएको छ।’

त्यसैगरी, नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताका सामाजिक सञ्जालमा अझै पनि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र भारतीय जनता पार्टी (बीजेपी) विरोधी भावना देखिने गरेको उल्लेख गर्दै सुवेदीले प्रधानमन्त्री बालेनले सांस्कृतिए।क राष्ट्रियताको अवधारणामार्फत नेपाल र भारतलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको बताए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्