मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन। व्यापारिक दृष्टिले महत्वपूर्ण मानिएको नाकामा पूर्वाधार अभावका कारण व्यापार तथा सवारी व्यवस्थापनमा समस्या बढ्दै गएको छ।
विसं २०७९ फागुनमा सरकारले कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले डिपिआर सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो।
चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको उक्त सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो। सर्भेका क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो।
सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो। प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दा पनि पूर्वाधार निर्माण सुरु नहुनु दुःखद् भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो।
अध्यक्ष विष्टका अनुसार चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसकेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न कठिनाइ भइरहेको छ।
नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष यस नाकाबाट छ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।
पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० वटा विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। तर, आवश्यक भौतिक पूर्वाधारको अभावमा नाका सञ्चालन र सवारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक गतिविधि बढेको छ। बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ। सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्नुपर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमनसमेत प्रभावित हुने गरेको छ।
सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको र विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताउनुभयो। उहाँका अनुसार नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा समस्या थप जटिल बनेको छ।
कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको गुनासो छ। गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको यस नाकामा पूर्वाधार निर्माणको काम तत्काल अघि बढाउनुपर्ने उनीहरूको माग छ।
यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए। समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए।
कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो। कोरलानाका क्षेत्रअन्तर्गत लोमान्थाङमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो। त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो।
न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो। उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन्। भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ।
व्यापारिक गतिविधि र राजस्व सङ्कलन तीव्र रूपमा बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भएको ढिलाइले कोरलानाकाको पूर्ण क्षमतामा सञ्चालन र दीर्घकालीन विका


प्रतिक्रिया दिनुहोस्