काठमाडौँ। नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिने भएको छ। पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बिहान ११ बजेदेखि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो।
देशव्यापी रूपमा सञ्चालन हुने अभियानलाई प्रभावकारी बनाउन तथा खटिने प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, कार्यदिशा र आवश्यक प्रक्रियाबारे स्पष्ट जानकारी दिन अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन्।
उनका अनुसार काठमाडौँ उपत्यकामा उपलब्ध सबै प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको छ। उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि भने जुममार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ।
पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनताका मुद्दासँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा एकैसाथ ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्न लागेको महामन्त्री संग्रौलाले बताइन्।


प्रतिक्रिया दिनुहोस्