त्रिविमा ताला नलगाउन नेविसंघलाई चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा फेरि ताला लगाएपछि नेकपा (क्रान्तिकारी)ले विरोध जनाएको छ । नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला नेकपा (क्रान्तिकारी)ले जेठ १८ गते तोडेको थियो ।

तर, नेविसंघले जेठ १९ गते फेरि तालाबन्दी गरेपछि नेकपा(क्रान्तिकारी)ले अब सह्यै नहुने चेतावनी दिएको हो । “महिनौदेखि बन्द भएर शिथिल भई थला परिसकेको विश्वविद्यालय खोलिनुपर्छ, विद्यार्थी निर्धक्क पठनपाठन गर्न पाउनुपर्छ विश्वविद्यालयले कामकाज सहज बनाउन पाउनपर्छ भन्ने बुझाइ हो ।

खुलेको विश्वविद्यालय फेरि ताला लगाइनु कस्तो स्वार्थ र विवेकपूर्ण निर्णय होला ?,” नेकपा (क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । क्रान्तिकारीले तालबन्दी जारी रहे जुनसुकै अप्ठ्यारो अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने चेतावनीसमेत दिएको छ ।

“पार्टीले खोलेको ताला फेरि अटेर गरी लगाइएकाले तत्काल विश्वविद्यालय र सम्बन्धि पक्ष बसी समस्याको हल गरी ताला नखोलिए निर्मम भएर पार्टी अगाडि बढ्छ,’ नेकपा(क्रान्तिकारी)ले चेतावनी दिँदै भनेको छ । नेकपा (क्रान्तिकारी)ले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले महिनौँदेखि तालाबन्दी हुँदा पनि चासो नदेखाएको भन्दै आपत्ति पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्