कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ ।

‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु भइ दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलबार विभिन्न मुलुकका ५४ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिनु हुने कोपको सचिवालयले जनाएको छ ।

उच्चस्तरीय सत्रमा पहिलो दिन सोमबार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरसले जलवायुसम्बन्धी विपद् रोक्नका लागि सबैलाई आग्रह गर्नुभएको थियो । ‘उच्चस्तरीय सत्र’को पहिलो दिन विभिन्न मुलुकका ४७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिनुभएको थियो ।

‘उच्चस्तरीय सत्र’को अन्त्यमा युक्रेनका राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीको भिडियो सन्देश देखाइने कार्यक्रम छ । कोप-२७ आइतबारदेखि औपचारिक रुपमा सुरु भएको हो । इजिप्टको शार्म एल-शेखमा यही कात्तिक २० देखि सुरु भएको सम्मेलन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म हुनेछ । ‘उच्चस्तरीय सत्र’पछि विभिन्न विषयका वार्ता र छलफल हुनेछन् ।

सम्मेलनको विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी र महत्वाकांक्षी परिणामहरू दिने लक्ष्य तथा उद्देश्य छ ।

साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाह माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिने समेत सम्मेलनको लक्ष्य कोपको सचिवालयले जनाएको छ ।

सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा कायम गर्ने मार्गमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने, यसवर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान (एनडिसिज) र न्यूनीकरणका महत्वाकांक्षी लक्ष्यका कार्य योजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुनेछ ।

साथै, कोप-२७ मा वित्तसम्बन्धी सबै एजेण्डा अगाडि बढाइ जलवायु वित्तका विषयमा महन्वपूर्ण प्रगति गर्ने, सन्तुलित रूपमा ठोस नतिजा प्राप्त गर्न वार्तामा सम्झौतालाई सुधार र सहजीकरण गर्नु, हानी नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानी तथा नोक्सानी सुविधा सम्मेलनका एजेण्डा छन् ।

नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा सहभागिता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array