सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ पुष २०७९, मंगलवार
2 Min Read
Aa

सर्लाही, जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा दैनिक चार वटासम्म दुर्घटना हुने गरेको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा तीन सय ९७ वटा दुर्घटना भएका छन् भने दुर्घटनामा परेकामध्ये एक सय २५ जना गम्भीर घाइते भएका छन् ।

पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा दुर्घटना र त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या लगातार बढ्दै गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७६/७७ मा एक सय ८४ वटा सवारी दुर्घटना भएकोमा ५० जनाको ज्यान गएको थियो । त्यस्तै आव २०७७/७८ मा ६ सय वटा सवारी दुर्घटना भएकामा ६२ जनाले ज्यान गुमाएको र आव २०७८/७९ मा आठ सय ४६ वटा सवारी दुर्घटना हुँदा ७९ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा सडक र सवारी दिन प्रतिदिन असुरक्षित बन्दै गएको रौतहट सर्लाही यातायात प्रालिका अध्यक्ष राजकुमार मैनालीले बताउनुभयो । सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकाय बढी जिम्मेवार बन्नुपर्ने नागरिक अगुवा शिवचन्द्र चौधरीको भनाइ छ ।

साँघुरा सडक, सडकको दुरावस्था, लापर्बाहीपूर्ण यातायात सञ्चालन र सवारी साधनको चापका कारण सवारी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो । उहाँका अनुसार सडकमा हुनुपर्ने सचेतना र सूचना पाटी, सडक लाइनिङसमेत नदेखिने अवस्थामा रहँदा दुर्घटनाको जोखिम बढेको हो ।

दुर्घटना न्यूनीकरणका सम्पूर्ण उपाय अवलम्बन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक कार्कीको भनाइ छ । उहाँका अनुसार दुर्घटना न्यूनीकरण गर्न सडकमै सचेतना कार्यक्रम चलाउनेदेखि विद्यालयमा ट्राफिक नियमसम्बन्धी कक्षा लिने गरिएको छ ।

दुर्घटना नियन्त्रण गर्न नियमित र आकस्मिक सवारी चेकजाँचसँगै ट्राफिक नियम विपरीत सञ्चालित सवारी साधनहरु र तिनका चालकहरुलाई नियमानुसार दण्ड तथा जरिवानासमेत गर्ने गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्