पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित, विषयगत छलफल अघि बढ्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ,  प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

समितिको आजको बैठकले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको सभापतित्व गर्नुभएका ज्येष्ठ सदस्य लालवीर चौधरीले जानकारी दिनुभयो । बैठकमा सांसदहरूले आर्थिक वर्षको अन्त्य भइसकेकाले विषयगत छलफललाई तीव्रता दिन माग गर्नुभएको थियो ।

सांसद शङ्कर भण्डारीले अलपत्र परेका विकासका आयोजनाका कारण खोजी गरी निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो । सडक, ठूला खानेपानी आयोजना लामो समयदेखि अलपत्र परेकाले समितिले सरोकार भएकासँग छलफल गरी आइपरेका समस्या समाधानका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

निर्माण व्यवसायीलाई रु ८० अर्ब दिन बाँकी छ भनी प्रचारप्रसार भइरहेकाले त्यस विषयमा समेत समितिले खोजी गरी सहजीकरण गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो । अदालतको ढिलासुस्तीले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनमा बाधा पुगेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा सांसदहरू प्रतिमा गौतम, डा चन्द्रकान्त राउत, गोकर्णराज विष्ट, दयालबहादुर शाही, वसन्तकुमार नेम्वाङलगायतले कार्यक्षेत्रका विषयमा प्रवेश गरी छलफललाई तीव्रता दिन माग गर्नुभएको थियो । आन्तरिक कार्यविधिमै अल्झेर बस्दा बजेटमा छलफल गर्न ढिलाइ भएको उहाँहरूको भनाइ थियो ।

सांसदहरूले वर्षौंअघि ठेक्का भएका पुलका काम अघि नबढेको भन्दै पर्यटकीय सहर पोखरा जाने तनहुँको सडकलगायतको काम छिटो गरिनुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो । समितिको आन्तरिक कार्यविधि पारित भएसँगै विषयगत छलफलमा जोड दिइने समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array