बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री तुम्लिङ्टारमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ असार २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन सङ्खुवासभाको तुम्लिङ्टार पुग्नुभएको छ ।

अविरल वर्षाका कारण आएको बाढीपहिरामा परी सङ्खुवासभामा एक जनाको मृत्यु तथा १८ जना बेपत्ता भएका छन् । प्रधानामन्त्री दाहालले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जानकारी लिनुभएको थियो ।

प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना, सहानुभूतिका साथै उद्धार र राहत तथा बेपत्ताको खोजीकार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै स्वयंसेवी सङ्घसंस्थालाई अपिल गर्नुभयो । उहाँले तत्काल सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारबिहीनलाई तत्काल स्थानान्तरण र भोलिका लागि आवासको व्यवस्था मिलाउन आवश्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, वसन्त नेम्वाङ, दिपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की हुनुहुन्छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि उहाँका साथमा हुनुहुन्छ । प्रधानमन्त्री दाहालले आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवस्थाबारे जानकारी लिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array