पार्टीको आधिकारिकतामा करोड हाेइन, एक सुकाको पनि लेनदेन भएकाे छैन : गगन थापा

Sagarmatha Post
Sagarmatha Post १९ कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय चर्चामा रहेको विवादास्पद अडियो प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै उनले आफू कुनै पनि गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका हुन् ।प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएपछि प्रष्टीकरण दिँदै थापाले आफू निर्दोष रहेको र आफ्ना हात सफा रहेको दाबी गरे ।

उनले पार्टीको आधिकारिकता र आन्तरिक रूपान्तरणका लागि भएको संघर्ष कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै त्यसमा कुनै पनि आर्थिक लेनदेन नभएको बताए ।थापाले भने, ‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् । पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन ।’

अडियो कसले, कहिले र किन रेकर्ड गरेको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै उनले यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे । प्रहरी हिरासतमा रहेका व्यक्तिसँग जोडिएको विषय भएकाले अनुसन्धान प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो । अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ ।’

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्