सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताउनुभयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० भाद्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कुरामा विदेशी निकायहरूको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रिया एक हिसाबमा सफल भइसके पनि निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रूपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्नुहुने काम मुख्य प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताउनुभयो । उहाँले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरूसँग सहमति गरेर शान्ति प्रक्रिया टुङ्गो लगाउने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चार पटकसम्म निर्वाचन भइसकेपछि एक प्रकारले भन्यो भने कानुनले निश्चित गर्न मात्रै बाँकी हो कि त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो । शान्ति प्रक्रिया सुरु भइसकेपछि चार वटा निर्वाचन भइसके । यो धेरै ठुलो सफलता हो । तर फेरि यति ठुलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरू काम भइसके । तर पनि यसलाई निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न विभिन्न खेलहरू भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन् । यसलाई निष्कर्षमा पुर्‍याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकूल बनाउनुपर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्त्वपूर्ण भूमिका हुन्छ ।’’

माओवादीले सरकारले थालेका भ्रष्टाचारविरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषय टुङ्गोमा पुर्‍याउन दबाब दिएको छ ।

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array