नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं,   मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उहाँहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको उल्लेख गर्नुभयो । आफू भित्रको स्पोर्टस् म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीहरूलाई उहाँले आग्रह गर्नुभयो ।

यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र संगठनलाई गर्व र हर्ष महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको र यसप्रति संगठन गम्भीर रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सम्मानित खेलाडीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी संगठनमा आवद्ध भएकोमा गौरव महसुस गरेको बताउनुभयो । आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।   आजै स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सह-सचिव प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array