अमेरिका भ्रमण त्यागेर गृहजिल्लामा महिला मन्त्री भगबती चाैधरी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ फाल्गुन २०८०, आईतवार
4 Min Read
Aa
इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए ।

यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ । दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आउनु भएको हो ।
बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिकार वाला हुने भन्दै अघिल्लो सरकारले गरेको निर्णय बमोजिम पूर्व निर्धारित कार्यक्रममा आफू जाने तय भए पनि आफू नगएको बताउनु भयो । मन्त्री नगए पनि भ्रमण दलका अन्य सदस्य भने आज राति अमेरिका उड्दैछन् । प्रतिनिधि मण्डलको नेतृत्व कर्मचारीले गर्ने र मन्त्री स्तरको हुने भनिएको कार्यक्रम कर्मचारी स्तरमा नै गर्न आदेश दिएर आफू गृह जिल्ला आएको मन्त्रीको भनाइ थियो ।
‘याे कार्यक्रममा विश्वका सबै देशहरूबाट महिला मन्त्रीहरूकै नेतृत्वमा सहभागी हुने गर्छन् । महिलाका आर्थिक, सामाजिक, राजनैतिक विभेद, समस्या लगायतमा विचार विमर्श गर्दै हरेक देशले हासिल गरेका उपलब्धीहरू त्यहाँ प्रस्तुत हुन्छ । यस्ताे कार्यक्रम विगतदेखि नै मन्त्रीस्तरीय नेतृत्व हुने प्रचलन छ ।’ आफुले कुनै जम्बाे टाेली तयार नपारेकाे प्रष्टयाउँदै निवर्तमान मन्त्रिपरिषद्ले गरेकाे निर्णयमा मन्त्रीकाे स्थानमा आफ्नाे नाम मात्र राखेर बर्तमान मन्त्रिपरिषद्ले निर्णय गरेकाे भन्दै मन्त्री चाैधरीले बताउनु भयाे । साथै, उहाँले पहिलाकाे टाेलीमा २२ जनाकाे नाम भएपनि अहिलेकाे टाेलीमा ११ जनाकाे मात्र नाम भएकाे जनाउनु भयाे ।

उक्त अवसरमा मन्त्री चौधरीले यो गठबन्धन २०८४ साल सम्मै नै जाने दाबी समेत गर्नुभयो । ‘बर्तमान गठबन्धन सरकार चार वर्ष टिक्छ । यसका लागि गठबन्धनमा रहने सबै दलहरू र शीर्ष नेतृत्व प्रतिबद्ध हुनुहुन्छ ।’ मन्त्री चाैधरीले नयाँ गठबन्धन ताेड्ने कसरत भइरहेपनि त्यस्ता व्यक्तिहरू सफल नहुने भन्दै भन्नुभयाे ।  साथै, विगतका सरकारले महिला विभाग र महिलाका समस्या हेर्ने संरचना खारेज गरेकाेमा आफु पुनः ती संरचनाहरू पुनर्स्थापनाका पक्षमा रहेकाे पनि बताउनु भयाे ।  ‘दिनदिँनै महिलाहरू हिंसाकाे शिकार भइरहेका छन् । बलात्कृत भइरहेका छन् । उत्पिडनमा परेका छन् । उनीहरूकाे पक्षमा बाेलिदिने संरचना छैन । म महिलाका सबै खाले उत्पिडन, हिंसाकाे विरूद्धमा जिल्ला तहमै बाेलिदिने संरचना बनाउनु पर्छ भन्नेमा छु । त्यसका लागि लागि पर्नेछु ।’ चाैधरीले भन्नुभयाे ।

मन्त्री चौधरीको स्वागतमा मोरङ, सुनसरीका सयौँ नेता तथा कार्यकर्ता बिराटनगर विमानस्थलमा भेला भएका थिए ।  त्यस्तै दुहबी १० मा आयोजित साँस्कृतिक कार्यक्रममा बोल्दै प्रदेश सांसद रामदेव यादवले कोशी प्रदेशको सरकार परिवर्तन हुने बताउनु भयो । पहिले आफ्नो दलको सरकारले हालेको योजना अहिलेको सरकारले काटेको भन्दै अब सरकार परिवर्तन गरेर आफूहरुले अघि सारेको विकासका योजनाहरुलाई निरन्तरता दिने सांसद यादवकाे जिकीर छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएकी मन्त्री चौधरीले आफू मन्त्री भएपछिको पहिलो कार्यक्रम त्यो पनि धार्मिक, आफ्नै क्षेत्रको भएको कारण ब्यस्त समय विच उपस्थित भएको भन्दै महिलाहरु आधा आकास ढाक्ने मात्र नभई आधा धर्ति ढाक्ने भएको बताउनु भयो । सुनसरी ३ नम्बर क्षेत्रको समग्र विकासका निम्ति आफूले सक्दो पहल गर्दै आइरहेको स्मरण गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘महिलामाथि भइरहेको हिंसाको अन्त्य र आफूमाथि भएको हिंसा बाहिर ल्याउन उनीहरुलाई आर्थिक रुपमा पनि सक्षम बनाउन पर्छ ।’ मन्त्री चौधरीले महिलाहरुलाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको जनाउँदै मन्त्रालयमा रहेर महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको पक्षमा केही गर्ने कोशिष गरिरहेको बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

Array