सुर्खेत । जुवातासविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ५५ जना पक्राउ परेका छन्। आइतबार राति वीरेन्द्रनगरनगरपालिकाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।प्रहरीले पक्राउ परेकाहरूको साथबाट १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र ५२ पत्तिका ५३ गड्डी तास बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार वीरेन्द्रनगरका विभिन्न वडामा हारजित हुने गरी नगद राखेर जुवातास खेलिरहेको सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले विभिन्न स्थानमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ५५ जनालाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार जुवाखालबाट नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरिएको छ। भारतीय रुपैयाँको नेपाली मूल्य २१ हजार रुपैयाँ कायम गर्दा बरामद नगदको कुल रकम १२ लाख ५३ हजार ८४५ रुपैयाँ पुगेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका स्थानीय तथा बाहिरी जिल्लाका व्यक्तिहरू रहेका छन्। वीरेन्द्रनगर–६ का रोहित गिरी, राजन शर्मा, विक्रम नेपाली, भरत गुरुङ, हेमन्त नेपाली र कबिराम विक पक्राउ परेका छन्।त्यस्तै, वीरेन्द्रनगर–७ का हेमराज थापा र सुदीप कसेरा, वडा नम्बर ४ का दीपक सुनार, वडा नम्बर ८ का दीपक कार्की, महेन्द्र शर्मा र शम्भु पन्त पनि पक्राउ परेका छन्।
यसैगरी वीरेन्द्रनगर–१० का ओमप्रकाश विक, मान सिंह रम्तेल, अर्जुन जंग शाही र डिलाराम गिरी, वडा नम्बर २ का जगधन सुनार, वडा नम्बर १२ का रिनबहादुर विक तथा वडा नम्बर ९ का मदन वली, भक्त थापा, केशवराज गिरी, नारायण जिसी र तीर्थजंग बुढाक्षेत्री पक्राउ परेका छन्।पक्राउ पर्ने अन्य व्यक्तिमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का रागु सुनार, बर्दियाको बाँसगढी नगरपालिका–९ का अर्जुन शाही, जुम्लाको गुठीचौर गाउँपालिका–४ का गोविन्दप्रसाद प्याकुरेल र दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का हिक्मत शाही रहेका छन्। कैलालीका विभिन्न स्थानका व्यक्तिहरू पनि पक्राउ परेका छन्।
त्यसैगरी भारतको मोतिहारी जिल्ला स्थायी घर भई हाल वीरेन्द्रनगर–३ मा बस्दै आएका सोनु गुप्ता र राजेश कुमारसमेत प्रहरी नियन्त्रणमा परेका छन्। सूचना अधिकारी मगराठीका अनुसार पक्राउ परेकामध्ये वीरेन्द्रनगर–७ का सुदीप कसेरा र वीरेन्द्रनगर–४ का सुशील भारती घरधनी हुन्।


प्रतिक्रिया दिनुहोस्