आज कात्तिक कृष्ण त्रयोदशी : यमराजको दूत कागलाई पूजा गरी काग तिहार मनाइँदै

Sagarmatha Post
Sagarmatha Post २१ कार्तिक २०८३, शनिबार
2 Min Read
Aa

काठमाडौँ । यमराजको दूतका रूपमा मानिने कागलाई मीठा परिकार खुवाएर आज काग तिहार मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्वमा बिहानै कागको पूजा आराधना गरी खानेकुरा अर्पण गर्ने धार्मिक परम्परा छ।सूर्योदयकालमा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार यस वर्ष शनिबार पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो।

धार्मिक मान्यताअनुसार यमराजले पृथ्वी लोकको खबर कागमार्फत प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने गरिन्छ। यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने कामनासहित कागलाई विभिन्न मीठा खानेकुरा दिएर खुसी पार्ने चलन छ।नेपाली समाजमा काग घरको आँगन वा छतमा आएर कराएमा कुनै खबर लिएर आएको विश्वास गरिन्छ। यस्तो अवस्थामा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत रहिआएको छ।

काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना गरिन्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको पूजा गर्ने परम्परा छ।तिहार पर्व यमराजको धार्मिक मान्यतासँग पनि जोडिएको छ। दुष्कर्म गर्नेलाई यमराजका रूपमा दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने विश्वास गरिन्छ। यम यातनाबाट मुक्ति पाउने उद्देश्यले परिवारका सदस्यका नाममा यमदीपदान गर्ने परम्परा भने शुक्रबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण दिशातर्फ फर्काएर बाल्ने गरिन्छ। यसरी दीपदान गरेमा यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो। कात्तिक कृष्ण त्रयोदशीको सायंकाल परेका कारण यमपञ्चकको प्रारम्भ शुक्रबारबाट भएको मानिएको छ।यसैक्रममा लक्ष्मीलाई घरमा स्थिर गराउने धार्मिक विश्वासका साथ मनाइने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको छ। धनतेरसका दिन सुन, चाँदी, गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मीको स्थायी बास हुने धार्मिक मान्यता छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्