काठमाडौं उपत्यकामा तीन महिनामा १ हजार १६२ फरार कसुरदार पक्राउ, १५ करोड ७८ लाख जरिवाना असुल

Sagarmatha Post
Sagarmatha Post २० कार्तिक २०८३, शुक्रबार
6 Min Read
Aa

काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले सञ्चालन गरेको अभियानबाट उल्लेखनीय उपलब्धि हासिल भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा प्रहरीले १ हजार १६२ जना फरार कसुरदारलाई पक्राउ गरी १५ करोड ७८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआईजी तथा प्रवक्ता गोविन्द थपलियाले उपत्यकाको त्रैमासिक सुरक्षा अवस्था र चाडपर्व लक्षित विशेष सुरक्षा योजनाबारे जानकारी दिँदै उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो।
प्रवक्ता थपलियाका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज महिनामा पक्राउ परेका फरार कसुरदारबाट ३०२ वर्ष ४ महिना १८ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने १५ करोड ७८ लाख ९८ हजार ७०७ रुपैयाँ जरिवाना असुल गरिएको छ। यसै अवधिमा विभिन्न कारागार तथा थुनाबाट फरार भएका थप ६७ जना कैदीबन्दीलाई समेत पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको छ।
उपत्यकाको बढ्दो जनघनत्व, सहरीकरण र राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले नियमित गस्ती, निगरानी, प्रविधिको प्रयोग र विशेष अभियानलाई तीव्र बनाएको थपलियाले बताउनुभयो। उहाँका अनुसार तीन महिनाको अवधिमा २३ हजार २४३ पटक मोबाइल गस्ती, २० हजार ८८७ पटक पैदल गस्ती, ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती तथा ६ हजार १७ पटक नियमित र आकस्मिक चेकिङ गरिएको छ।
लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले तीन महिनामा ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरेको छ। सो क्रममा ७२ केजी ८६ ग्रामभन्दा बढी गाँजा, १३ केजी ३९८ ग्राम पोल्याण्ड, ७६७ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन तथा ट्रमाडोललगायत विभिन्न प्रकारका २ लाख ९५ हजार ६७६ एम्पुल तथा चक्की नियन्त्रित लागुऔषध बरामद गरिएको छ।
आर्थिक अपराध नियन्त्रणतर्फ हुण्डी कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको छ। उक्त कारोबारमा १ करोड ६० लाख ८४ हजार १८० रुपैयाँ बिगो मागदाबी गरिएको छ। त्यस्तै, भन्सार छली तथा अवैध सुन ओसारपसारमा संलग्न २७ जनालाई पक्राउ गरी २३ केजी ८८८ ग्रामभन्दा बढी सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ।
जुवातास नियन्त्रण अभियानअन्तर्गत १४ वटा मुद्दा दर्ता गरी ११९ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट ४१ लाख ४३ हजार ५७५ रुपैयाँ बरामद भएको छ।
सार्वजनिक स्थलमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सञ्चालन गरिएको ‘स्विप अपरेशन’ अन्तर्गत २ हजार ७३४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरिएको छ। यस्तै, सार्वजनिक यातायात र भीडभाड हुने स्थानमा महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार रोक्न सञ्चालन गरिएको ‘सेफ्टी पिन अपरेशन’ मार्फत ६३७ जना पक्राउ परेका छन्। तीमध्ये गम्भीर प्रकृतिका कसुरमा संलग्न ६३ जनाविरुद्ध ४३ वटा मुद्दा दर्ता गरिएको छ भने सामान्य प्रकृतिका घटनामा संलग्न ५७४ जनालाई सचेत गराई आफन्तको जिम्मा लगाइएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ हजार ९३८ जना र लागुऔषध सेवन गरी सवारी चलाउने ७८ जना चालकलाई कारबाही गरिएको छ। यसैगरी, सवारीसाधन चोरी तथा हराएको भन्दै परेका ५२१ उजुरीमध्ये प्रहरीले २५७ वटा सवारीसाधन फेला पारेको छ। तीमध्ये २२१ वटा सम्बन्धित धनीलाई फिर्ता गरिएको छ भने चोरीमा संलग्न ३४ जनालाई पक्राउ गरिएको छ।
चाडपर्व सुरक्षामा ८ हजार ६६८ प्रहरी परिचालन
नियमित सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी प्रहरीले असोज १८ देखि कात्तिक १८ गतेसम्म एकमहिने विशेष सुरक्षा योजना सञ्चालन गरेको थियो।
उक्त योजनाअन्तर्गत उपत्यकामा विभिन्न दर्जाका ८ हजार ६६८ जना प्रहरी परिचालन गरिएको प्रवक्ता थपलियाले बताउनुभयो। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कमाण्ड पोस्ट स्थापना, सादा पोसाकमा प्रहरी परिचालन, पैदल तथा सवारी गस्ती र यात्रु तथा नागरिकको सहायताका लागि ३७ वटा हेल्प डेस्क सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी, उपत्यकाका विभिन्न प्रवेश तथा निकास नाका र संवेदनशील क्षेत्रमा २२ वटा चेकिङ प्वाइन्ट स्थापना गरी चौबिसै घण्टा निगरानी गरिएको थियो। सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन डग स्निफिङ, सीसीटीभी र ड्रोन प्रविधिको समेत प्रयोग गरिएको थियो।
चाडपर्व लक्षित विशेष सुरक्षा अभियानका क्रममा जुवातास खेल्ने तथा खेलाउनेविरुद्ध १२ वटा मुद्दा दर्ता गरी ९१ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट २८ लाख ७९ हजार ७७५ रुपैयाँ नगद र ४९ बुक तास बरामद गरिएको छ।
त्यस्तै, अवैध पटाका आयात तथा बिक्री वितरण नियन्त्रण गर्ने क्रममा १२ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट विभिन्न प्रकारका ३४ हजार ३५७ थान पटाका र १३ हजार ८४९ प्याकेट पटाका बरामद गरिएको छ। यसबाहेक बेवारिसे अवस्थामा रहेका तीन बोरा विभिन्न प्रकारका पटाका पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रवक्ता थपलियाले प्रविधिको प्रयोग, प्रहरीको प्रत्यक्ष उपस्थिति, सूचना सङ्कलन र प्रभावकारी गस्तीका माध्यमबाट उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको बताउनुभयो। उहाँले चाडपर्वको नाममा जुवातास खेल्ने वा खेलाउने तथा पटाका एवं विस्फोटक पदार्थ पड्काउनेजस्ता गैरकानुनी गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
यस्ता अवाञ्छित गतिविधि देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गर्दै उहाँले चौबिसै घण्टा प्रहरी परिचालन र प्रविधिमार्फत सुरक्षा निगरानी भइरहेकाले ढुक्क भएर दीपावली तथा छठ पर्व मनाउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्