काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज विभिन्न धातुका भाँडाकुँडा तथा सुनचाँदीका गरगहना खरिद गरी मनाइँदैछ । धनतेरसका दिन नयाँ भाँडाकुँडा घरमा भित्र्याउँदा धनकी देवी लक्ष्मीको स्थायी बास हुने धार्मिक विश्वास रहिआएको छ ।परम्पराअनुसार धनतेरसका दिन खरिद गरिएका भाँडाकुँडामा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन पूजा गर्ने चलन छ । यसरी पूजा आराधना गर्दा घरमा सुख, शान्ति र समृद्धि कायम हुने विश्वासका कारण आज बजारमा भाँडाकुँडा तथा सुनचाँदीका गरगहना किन्नेको चहलपहल बढेको छ ।
धनतेरसलाई धन त्रयोदशी र भाण्ड त्रयोदशीका नामलेसमेत चिनिन्छ । यस दिन नयाँ भाँडा खरिद गर्दा लक्ष्मीको कृपा प्राप्त हुने धार्मिक मान्यताका कारण भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । व्यापारीहरूले पनि एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडाकुँडा आकर्षक रूपमा सजाएर बिक्रीका लागि राखेका छन् ।
यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न पार्ने उद्देश्यले परिवारका सदस्य सङ्ख्याअनुसार यमदीप दान गर्ने परम्परा पनि सुरु हुँदैछ । यमदीप दान गर्नाले यम यातनाबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिनुभयो ।त्यस्तै, धनका अधिपति कुबेरको जन्मदिनका रूपमा पनि आजको दिनलाई लिने गरिन्छ । यही धार्मिक तथा पौराणिक मान्यताअनुसार धनतेरसका दिन कुबेरको विशेष पूजा आराधना गर्ने चलन छ । यद्यपि, कतिपयले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजा गर्ने परम्परा अपनाउँदै आएका छन् ।
दीपावली, तिहार तथा यमपञ्चकका नामले परिचित यो पर्व नेपालीहरूको दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि कार्तिक शुक्ल द्वितीयासम्म घर तथा व्यापारिक प्रतिष्ठानमा दीपावली गरी झिलिमिली बत्ती बाल्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार शनिबार परेको छ । धनवन्तरी जयन्ती पनि शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्