पानीको संकट र पानीजन्य संकट समाधानमा बर्षातको पानी संकलन र व्यवस्थापन बरदानः मन्त्री बस्नेत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ चैत्र २०८०, सोमबार
8 Min Read
Aa

पुल्चोक(ललितपुर), ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बर्षातको पानी संकलन र व्यवस्थापन पानीको संकट र पानीजन्य संकट समाधानका लागि वरदान सावित हुने बताउनुभएको छ । स्मार्ट वास सोलुसन्स प्रा.लि. र नेदरल्याण्ड्सको विकास सहयोग संस्था(एसएनभी नेपाल)को आयोजनामा आजदेखि राजधानीमा भैरहेको बर्षातको पानी संकलन र व्यवस्थापन विषयक क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय सम्मेलनलाई संबोधन गर्दै मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण पानीका स्रोतहरुमा परेको प्रतिकूल प्रभाव हटाउन पनि वर्षातको पानी संकलन र व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले बर्षाको पानी संकलनबाट जलसुरक्षा कायम गर्न सहयोग पुग्ने पनि बताउनुभयो ।

बर्षाको पानी संकलनले संयुक्त राष्ट्रसंघद्धारा घोषणा गरिएको दिगो विकास लक्ष्य अन्तरगतको छैठौं लक्ष्यको सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित खानेपानी पुर्याउने लक्ष्य हासिल गर्न पनि सहयोग पुग्ने कुरा मन्त्री बस्नेतले उल्लेख गर्नुभयो । उहाँले राष्ट्र संघद्धारा निर्धारित दिगो विकासका लक्ष्यहरु एकर्कासंग अन्तरसम्बन्धित भएको र ती मध्ये धेरै लक्ष्य हासिल गर्न पर्याप्त पानी आवश्यक हुने भएकोले पानीको उपलब्धतालाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो । मन्त्री बस्नेतले बर्षातको पानीको समुचित व्यवस्थापन गर्न नसक्दा बाढी पहिरोजन्य प्राकृतिक प्रकोप पनि बढ्दै गएको उल्लेख गर्दै यसलाई व्यवस्थापन गरेर प्राकृतिक प्रकोप न्यूनीकरण गरी बर्षेनी हुनेगरेको जनधनको क्षतिलाई कम गर्न सकिने पनि बताउनुभयो ।

उहाँले हाम्रो पुस्ताले पानीको संकट र पानीजन्य संकट समाधान गर्न सबैलाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा पूर्वमन्त्री गणेश साहले जल सुरक्षा कायम गर्न बर्षातको पानी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले बर्षातको पानीको संकलनले प्रत्यक्ष खानेपानी, घरेलु उपयोगको पानी,कृषि,उद्योग र अन्य कार्यमा उपयोग हुने पानीको खाँचो टर्नुका अतिरिक्त यसले पानीका स्रोतहरुको पुनर्भरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले बर्षातको पानी संकलन र प्रशोधन, प्रयोग गरिएको पानीको पुनःप्रशोधनका
साथै पुनउपयोग जमिनमुनिको पानीको पुनर्भरणका नवीनतम् प्रविधिको खोजी,विकास र विस्तार गर्न जलप्रविधिको विकास जरुरी भएको बताउनुभयो ।

पूर्वमन्त्री साहले जलवायु परिवर्तनका ८० प्रतिशत बढी विषय पानीसंग सम्बन्धित भएको बताउदै हिमालयबाट बग्ने नदी प्रणालीमा निर्भर विश्वका एक अर्बभन्दा बढी नागरिकको जीवन र जीविकोपार्जनलाई ध्यान दिंदै राष्ट्र संघका महासचिव एण्टिनियो गुटरेसले नेपालमा आएर हिमाल जोगाउन सन्देश दिनुभएको उल्लेख गर्नुभयो ।

सम्मेलनको उद्घाटन शत्रमा एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा.बिन्दुनाथ लोहनीको मुख्य प्रवचन दिनुभएको थियो । उहाँले जलसुरक्षणका चुनौती, जलउत्थानशीलता र भावि दिशाका बारेमा प्रकाश पानुृभएको थियो । उहाँले जलसुरक्षण र जलवायु परिवर्तनका असरलाई पूर्वाधार निर्माणको आयोजना तर्जुमा चरणमा नै समावेश गर्नुपर्ने, बर्षातको पानी संकलन र व्यवस्थापनसहित पानी आपूर्तिका योजनाहरु आर्थिक हिसाबले उपयुक्त र न्यायोचित हुनुपर्ने र पानी उपलब्धता जस्तो मौलिक अधिकारको कुरा आपूर्तिका बिषय सरकारी नीतिमा स्पष्ट परिभाषित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै इन्टरनेशनल रेनवाटर हार्भेष्टिड. एलाइन्सका अध्यक्ष ई. हान्स हाइजनानले आफ्नो देशले केही बर्ष पहिले नदीहरुको चौडाई बाढी नियन्त्रणमा सफलता पाएको उल्लेख गर्दै अहिले गरिएको लगानीले बर्षौसम्म दशौ गुणा फाइदा हुने बताउनुभयो । उहाँले दक्षिण एशिया क्षेत्रमा बर्षातको पानी संकलन र व्यवस्थापनमा मौलिक अनुभव भएकोले यो सम्मेलन आपसी अनुभव आदानप्रदान गर्न र प्रविधि विस्तार गर्न उपयोगी हुने बताउनुभयो । उहाँले आकाशबाट झरेको पानीलाई उपयुक्त समयमा उपयुक्त स्थानमा संकलन गरेर मानवहितमा उपयोग गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा युनिसेफका मोहम्मद इफ्राद सैय्यद अल्राईले बाढी र सुख्खाका कारण बालबालिकाहरु प्नि प्रभावित भएको उल्लेख गर्दै बर्षातको पानीको संकलन र व्यस्थापनले दुवै समस्याको समाधान दिने बताउनुभयो ।

कार्यक्रममा सम्मेलनको प्राविधिक समितिका अध्यक्ष एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकूलपति डा.सुनिलबाबु श्रेष्ठले सम्मेलनमा प्राप्त कार्यपत्र, व्यवसायिक शत्रको बारेमा प्रकाश पार्नुभएको थियो । यस सम्मेलनमा २ वटा प्लेनरी सेसन, ५ वटा प्राविधिक सेसन तथा २ वटा प्यानल डिस्कसन सेसन डिजाइन गरिएको छ । यस सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरुबाट ३१ वटा कार्यपत्र प्रस्तुत भैरहेका छन् । सम्मेलनका साथमा यस क्षेत्रमा आएका नवीनतम् प्रविधिहरुको प्रदर्शनी गरिएको छ ।

सम्मेलनमा बर्षातको पानी संकलन र व्यवस्थापनका नीति, नियमन र संस्थागत ढाँचा, सन २०३० सम्म सबैका लागि स्वच्छ खानेपानी आपूर्ति गर्ने दिगो विकास लक्ष्यको सन्दर्भमा बर्षाको पानीको उपयोगीता,बर्षाको पानी संकलनका क्षेत्रमा विकसित नयाँ प्रविधि र समाधानहरु, पानीको गुणस्तर र जनस्वास्थ्य, अनुसन्धान र विकास, साझेदारी समन्वय र लय निर्माण, बर्षाको पानी संकलन र कृषिका साथै बर्षाको पानी र पानीजन्य प्रकोपका सेरोफेरोमा रही विषय विज्ञहरुद्धारा अनुसन्धानमा आधारित कार्यपत्रहरु व्यवसायिक शत्रमा पेश भैरहेका छन् । सम्मेलनमा यस क्षेत्रका विभिन्न देशका विभिन्न क्षेत्रमा अपनाइएका उत्तम अभ्यासहरुको अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । चैत्र ६ गते समापन शत्रमा काठमाडौं घोषणा पत्र जारी गरिनेछ ।

कार्यक्रममा खानेपानी तथा ढलनिकास विभागका महानिर्देशक कमलराज श्रेष्ठले बर्षातको पानीको उपयोगिताको बारमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई. रामदीप साहले बर्षाको पानी संकलन र व्यस्थापनबाट खानेपानीको समस्या समाधानमा ठूलो सहयोग पुग्ने भएकोले संस्थाको आयोजनामा यो सम्मेलन गरिएको बताउनुभयो । उहाँले बर्षातको पानी संकलन र व्यवस्थापनलाई राष्ट्रिय अभियानको रुपमा लैजान सरकारका योजना,नीति,कार्यक्रम र बजेटमा समेट्न आवश्यक भैसकेको उल्लेख गर्नुभयो ।

आज र भोलि चल्ने यो क्षेत्रीय स्तरको अन्तराष्ट्रिय सम्मेलनमा सम्मेलनमा यस क्षेत्रमा पानी आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरु, विज्ञ र वैज्ञानिकहरु, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्याथीहरु, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगीहरु, आम नागरिकलाई खानेपानी र सिंचाईका लागि पानी आपूर्ति गर्न अग्रसर जनप्रतिनिधिहरु, खानेपानी तथा सिंचाई उपभोक्ता समितिका प्रतिनिधिहरु र पानीको आपूर्तिका बारेमा आमनागरिकलाई सन्देश पु¥याउदै आउनुभएका सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

स्मार्ट वास सोलुसन्स र नेदरल्याण्ड्स विकास सहयोग संस्था(एसएनभी)ले खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा यो सम्मेलन गर्न लागिरहेका छन् । यस सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ रहेका छन् भने युनिसेफ, विश्व स्वास्थ्य संगठन,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नगर विकास कोष, वायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भायरोमेन्ट, र बेष्ट पानीले सम्मेलनलाई सहयोग गरेका छन् । यस अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा शहरी विकास मन्त्रालयले संरक्षकत्व प्रदान गरेकोे छ ।

स्मार्ट वास सोलुसन्स प्रा.लि. खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्नका लागि यस क्षेत्रका विज्ञहरुद्धारा स्थापना गरिएको संस्था हो । यसले स्थापनाकालदेखि नै खानेपानी तथा सरसफाईका क्षेत्रमा देखिएका समस्याहरुलाई नवीनतम् प्रविधिमार्फत समाधान गर्न यस क्षेत्रमा कार्यरत संघ,संस्था र उपभोक्ता समितिहरुलाई सहजीकरण गर्दै आइरहेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग नेपालमा खानेपानी र ढल निकासको काम गर्ने सरकारको आधिकारिक विभाग हो । यो खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गत रहेको छ । नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्स भने बर्षाको पानी संकलन र व्यवस्थापनमा काम गर्न नेपालमा कार्यरत सरकारी र गैरसरकारी संस्थाहरुको समूह हो ।

बर्षातको पानीे संकलन र व्यवस्थापनका धेरै फाइदा छन् । यो सित्तैमा पाइन्छ । घरघरमा उपलब्ध हुन्छ । यसको सही उपयोग गर्न सके घरेलु आवश्यकता पूरा गर्न सकिन्छ । विद्यालय र अस्पताल एवम् स्वास्थ्य केन्द्रजस्ता खानेपानी र सरसफाईमा अधिक पानी चाहिने स्थानमा यो वरदान नै सावित भैरहेको छ । यसको समुचित उपयोगबाट जमिनमुनिको पानी पुनर्भरणमा गर्न सकिन्छ । सार्वजनिक क्षेत्रमा पोखरी वा बाँध बनाएर पानीका स्रोत पुनर्भरण, स्थानीय सौन्दर्यीकरण, कृषि उपयोगका अतिरिक्त पहिरो र बाढी जन्य प्राकृतिक प्रकोपबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array