काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा आराधना गर्ने धार्मिक परम्परा छ। पौराणिक ग्रन्थहरूमा स्कन्दमाताको उत्पत्ति र महिमाबारे विभिन्न कथा वर्णन गरिएको पाइन्छ।
पौराणिक कथाअनुसार, एकपटक भगवान् शिव र पार्वती ऋषिहरूको सभामा पुग्दा सबै ऋषि उठेर स्वागत गरे पनि ध्यानमा मग्न रहेका सनतकुमार उठेनन्। यसबाट पार्वती असन्तुष्ट भई उनलाई ऊँट बन्ने श्राप दिइन्। त्यसपछि भगवान् शिवले ज्ञानी व्यक्तिलाई श्रापले पनि विचलित पार्न नसक्ने र सनतकुमारले ऊँटको योनिमा समेत आफ्नो ब्रह्मज्ञानका कारण आनन्द अनुभव गरिरहेको बताए।
पार्वतीले सनतकुमारसँग ऊँटको योनिमा रहँदाको अनुभवबारे सोध्दा उनले जङ्गलका काँडा खाएर पनि आनन्दपूर्वक ब्रह्मचिन्तनमा रमाइरहेको र कुनै कष्ट अनुभव नगरेको बताए। ऋषिको ज्ञान र धैर्यबाट प्रभावित भएकी पार्वतीले आफूले दिएको श्रापप्रति पश्चात्ताप गर्दै उनलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरिन्। पार्वतीको इच्छाअनुसार सनतकुमारले जन्म लिएको प्रसङ्गलाई स्कन्दमातासँग जोडेर वर्णन गरिएको पाइन्छ।
छान्दोग्य उपनिषद्मा उल्लेख भएअनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारलाई स्कन्द भनिएको हो। स्कन्दकी माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको धार्मिक मान्यता छ। स्कन्दमाताको प्रतिमामा उनलाई सिंहासनमा विराजमान तथा दुवै हातमा कमलको फूल धारण गरेकी देवीका रूपमा चित्रण गरिन्छ।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ गर्ने परम्परा छ। यस अवधिमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यही मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।
नवरात्रका अवसरमा नौ दिनसम्म पूजा गरी तयार पारिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण तथा वितरण गरिन्छ। यसरी नेपाली समाजमा बडादसैँलाई १५ दिनसम्म मनाउने परम्परा छ। यस वर्ष नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिएको थियो। नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै छ।
दुर्गापक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।
नवरात्रका बेला शक्तिपीठमा गई देवीको पूजा आराधना तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।


प्रतिक्रिया दिनुहोस्