काठमाडौं । फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा कर्मचारीको स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै काम गरेको तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा सञ्चालित कार्यक्रममा प्रशंसा गरिएको छ। संस्थागत व्यवस्थापन, कर्मचारीको हकहित र सुरक्षित कार्यस्थल निर्माणमा आवश्यक मापदण्ड पूरा गरेको भन्दै सहभागीहरूले कम्पनीको कामको सराहना गरेका हुन्।
आईएलओको सहयोगमा सञ्चालित दुईवर्षे कार्यक्रममा फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गर्ने करिब ५० देखि ६० वटा कम्पनी सहभागी थिए। कार्यक्रमको मुख्य उद्देश्य संस्थाहरूलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थित बनाउनु, कर्मचारीको अधिकार सुनिश्चित गर्नु र कार्यस्थललाई सुरक्षित तथा मर्यादित बनाउनु रहेको तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिका प्रबन्ध निर्देशक केदार खत्रीले बताए।
खत्रीका अनुसार फोहोरमैला व्यवस्थापनलाई बाहिरबाट हेर्दा घरघरबाट फोहोर संकलन गरी गाडीमा राखेर लैजाने सामान्य कामजस्तो देखिए पनि यस क्षेत्रभित्र अनेकौँ चुनौती छन्। कर्मचारीको स्वास्थ्य सुरक्षा, व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग, सामाजिक सुरक्षा कोषमा आबद्धता, बिमा तथा आधारभूत सुविधाको व्यवस्थापन गर्नु चुनौतीपूर्ण काम हो।
“हामी घरघरबाट फोहोर संकलन गरेर गाडीमा राखी लैजान्छौँ। बाहिरबाट हेर्दा यो सामान्य कामजस्तो देखिए पनि यसभित्र धेरै जटिलता छन्। कर्मचारीको स्वास्थ्य, सुरक्षा, सामाजिक सुरक्षा कोषमा आबद्धता र समग्र व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ,” खत्रीले भने।
उनका अनुसार कम्पनीले संस्थागत तथा कानुनी प्रक्रिया पूरा गर्नुका साथै कर्मचारीको हकहित र कार्यस्थलको सुरक्षालाई प्राथमिकतामा राखेको छ। कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री, मास्क र पन्जाको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। काम सकेपछि सरसफाइ गर्ने, नुहाउने र कपडा फेर्ने सुविधालाई समेत ध्यान दिइएको उनले बताए।
त्यस्तै, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय, कपडा फेर्ने कोठा, स्तनपान कक्ष र विश्रामस्थलजस्ता सुविधाको व्यवस्थापनलाई पनि महत्त्व दिइएको छ। कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकभन्दा बढी तलब दिने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तथा बिमा सुविधा उपलब्ध गराउने काम गरिएको खत्रीको भनाइ छ।
फोहोरमैला व्यवस्थापन क्षेत्रमा सुरक्षित र व्यवस्थित कार्य वातावरण निर्माण गर्न नेतृत्व र व्यवस्थापनको महत्त्वपूर्ण भूमिका रहने उनले बताए। कर्मचारीको सुरक्षा र अधिकारलाई बेवास्ता गरेर यो क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिने उल्लेख गर्दै खत्रीले संस्थागत जिम्मेवारी र कर्मचारीको हितलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए।
तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिले तारकेश्वर नगरपालिकामा उच्चस्तरको फोहोरमैला स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) सञ्चालन गर्दै आएको छ। कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु, बिमा सुविधा उपलब्ध गराउनु तथा खानेपानी, शौचालयलगायतका आधारभूत सुविधा व्यवस्थित गर्नु कम्पनीका प्रमुख अभ्यास रहेको खत्रीले जानकारी दिए।
कार्यक्रममा कम्पनीले फोहोरमैला संकलन र व्यवस्थापनको कामसँगै संस्थागत सञ्चालन तथा कर्मचारी व्यवस्थापनका आवश्यक मापदण्ड पूरा गरेको विषयमा प्रशंसा पाएको उनले बताए। सहभागीहरूले कम्पनीको अभ्यासलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा पनि कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रोत्साहन गरेको खत्रीको भनाइ छ।
फोहोरमैला व्यवस्थापन सहरी स्वच्छता र वातावरण संरक्षणसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। यसमा संलग्न श्रमिकको स्वास्थ्य, सुरक्षा, सम्मान र सामाजिक संरक्षण सुनिश्चित गर्न सकेमा सेवा प्रवाहको गुणस्तरसमेत सुधार गर्न सकिन्छ। तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिले अपनाएका अभ्यासले फोहोरमैला व्यवस्थापनलाई केवल संकलन र ढुवानीमा सीमित नराखी श्रमिकको अधिकार र सुरक्षित कार्य वातावरणसँग जोड्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।


प्रतिक्रिया दिनुहोस्