दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपालबाट लैजाने कामदारको कोटा बढायो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ चैत्र २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२४ का लागि नेपालबाट लैजाने कामदारको कोटा बढाएको छ। कोरियाले यस वर्षका लागि १५ हजार कोटा गत वर्ष नै छुट्ट्याएको थियो। कोरियाको एचआरडीले १ हजार ४ सय कोटा बढाएर पत्र पठाएको जानकारी वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालकी निर्देशक मैया कँडेलले दिइन्।

उनका अनुसार सन् २०२४ मा कोरिया सरकारले नेपालका लागि १६ हजार ४ सय कामदार कोटा पु¥याएको छ। कोरियाले यस वर्षका लागि गत छुट्याएको कोटामा १३.२ प्रतिशत थप गरेको उनले बताइन्।  ‘२०२४ मा कोरियाले नेपालबाट बढी कामदार लैजाने भएको हो। यस वर्ष कोरियाबाट करार सकिएर फर्किएका कामदारसहित २२ हजार युवा कोरिया जान्छन्’, उनले भनिन्।

कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो गरी कामदार लैजान आश्वासन दिएको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारले क्षेत्र परिवर्तन गरेर लैजाने पनि कोरियाको सम्बन्धित पक्षले चासो राखेको शाखाकी निर्देशक कँडेलले जानकारी दिइन्।

कोरियाले २००८ देखि कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली कामदार ईपीएसमार्फत लैजाँदै आएको छ। गत वर्षदेखि सिप बिल्डिङ क्षेत्रमा कामदार लैजान थालेको कोरियाले यस वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि कामदार लैजान लागेको छ।

कोरियाबाट करार अवधि सकिएर फर्किएका कामदारले दिएको सीप परीक्षामा उत्तीर्ण भएका ३० जनामध्ये तीनजना रुट इन्डस्ट्रीको रोजगारीमा कोरिया प्रवेश गरिसकेको शाखाले जनाएको छ। कोरियाले नेपालबाट रुट इन्डस्ट्री क्षेत्रअन्तर्गत वेल्डिङमा पाइलटका रूपमा कामदार मागेको छ।

कोरियाले नेपालबाट स्वास्थ्य क्षेत्रका कामदार लैजान पनि चासो राखेको छ। यस विषयमा छलफल भइरहेका कारण अहिले स्वास्थ्यमा कस्ता कामदार लैजाने भन्ने टुंगो नभएको शाखाको भनाइ छ।

कोरियाले ई-सेभन भिसामार्फत स्वास्थ्य क्षेत्रका कामदार लैजान सक्ने शाखाको अनुमान छ। चालु आर्थिक वर्षमा पाँच हजारभन्दा बढी कामदार रोजगारीका लागि कोरिया पुगेका छन्। एक हजारभन्दा बढी कामदार जाने तयारीमा रहेको कँडेलले बताइन्।

प्रतिक्रिया दिनुहोस्

Array