शक्तिखोर औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने : प्रधानमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ,   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो ।  भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशन दिनुभएको नगरप्रमुख रेग्मीले रासससँग जानकारी दिनुभयो ।

सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा. बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो ।  भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्यीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

Array