सुन्दरमणि दीक्षितको आरोप, ‘प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ चैत्र २०८०, बुधबार
4 Min Read
Aa

काठमाडौं,  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा छुट्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको दाबी गरेका छन् ।
आज (बुधबार) समसामयिक विषयमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई विश्वास गर्न नसकिने बताए ।
साथै, उक्त प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अडान लिन नसकेको उनले बताए । उनले भने,‘आज रविलाई कुनै पनि डर थिएन प्रचण्डसँग । आज रविको पार्टी प्रचण्डलाई चाहिएको छ, यो सरकार टिकाउनका लागि । आज रविले होईन यो म मान्दिनँ, महरालाई म छोड्दिनँ भन्न सक्नुपथ्र्यो । त्यो भएन ।’
साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जानु नै गलत भएको उनको टिप्पणी छ । जनताले रवि लामिछानेसँग धेरै अपेक्षा गरेपनि त्यो पुरा नहुने निश्चित भएको उनको भनाइ छ । रास्वपाले प्रतिपक्षमा बसेर सरकारका गलत कामको प्रतिवाद गरोस् भन्ने जनताको चाहना पुरा नभएको उनले बताए ।
‘रवि लामिछानेको विषयमा कस्तो पर्यो भनेदेखि म अलिकति दुःखी छु । हामीले त्यो पार्टी र व्यक्तिबाट धेरै–धेरै आशा गर्यौं ।’ उनले भने, ‘जब उहाँ निर्वाचित भएर आउनुभयो, हाम्रो कुरा के थियो भने– तपाईँ सरकारमा नगइदिनुस् । प्रतिपक्षमा बसेर सरकारले गरेको नचाहिँदा काममा प्रश्न उठाउनुस् । २१ सिट छ, तपाईँ सक्नुहुन्छ भन्यौं पनि । तर, सरकारमा जानुभयो । सरकारमा नगई कसरी काम गर्ने भन्नुभयो ?’
साथै, गृहमन्त्री लामिछानेले आफू प्रतिपक्षमा बस्दा उठाएका कुराको विरुद्धमा काम भइरहेको बताए । लामिछानेले प्रतिपक्षमा रहँदा सहकारी ठगी गरी फरार रहेका जिबी राईलाई ७ दिनभित्र पक्रिएर कानुनी कारबाहीको दायरामा ल्याउँछु भने पनि उनी सरकारमा गएपछि काम नगरेको दिक्षितको भनाइ छ । साथै, सहकारी ठगी काण्डमा लामिछानेले आफ्नोबारे प्रष्ट पार्न आवश्यक रहेको उनले बताए । जनताले लामिछानेमाथि शंका गर्न थालिसकेको उनको भनाइ छ । ‘सहकारीमा यसरी रवि लामिछाने मुछिए, उनले भन्छन् होईन, पीडित भन्छन् हो । आम नागरिकले शंका गरिसके । छिनोफानो त गर्नुपर्यो नि,’– उनले भने ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दा लामिछानेले धन्यवाद दिनुपर्नेमा उल्टै प्रतिवादमा उत्रिएको भन्दै आपत्ति जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण लामिछानेले केही गर्न नसक्ने उनको भनाइ छ । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रचण्ड हाबी भएको कारण केही गर्न नसकेको उनको दाबी छ ।
संसदीय व्यवस्था असफल भएको उनले बताए । अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प नरहेको उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अबलम्बन गर्दा पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी हुनसक्ने उनले बताए ।
‘यो संसदीय व्यवस्थाले चलेन । असल व्यक्तिले काम गर्न सक्थ्यो । राष्ट्रपति प्रणालीमै जाऊँ । त्यो प्रणालीमा गएको भए आज यो कलंक लाग्दैन थियो । त्यतिमात्रै होई राजा ज्ञानेन्द्रले लडेर पनि जित्न सक्छ,’– उनले भने ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीमा धेरै राम्रा कुराहरु उठाएको भएपनि केही सुधार हुन नसकेको बताए । यो देशमा अब युवाहरुलाई मौका दिनुको विकल्प नरहेको बताए । तर, युवाहरु निश्कलंक हुन आवश्यक रहेको बताए । उनले नैतिक बल सबैभन्दा महत्वपूर्ण रहेको बताए ।
प्रचण्डले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भनेपनि त्यो तीन पटक प्रधानमन्त्री हुँदासमेत केही गर्न नसकेको उनको आरोप छ । प्रचण्डको विश्वास गर्न नसकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array