रेशम चौधरीले व्यक्तिगत स्वार्थ राखेर सुदूर सरकार टिकाउन खोज्नुभयोः रामलाल डगौरा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ चैत्र २०८०, सोमबार
4 Min Read
Aa

काठमाडौं,  नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए ।
‘यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरु चारै जनाको हत्यापनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन,’– उनले भने ।
उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो । आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए । उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनको भनाई छ ।
रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको उनको दाबी छ । रेशमले धम्की दिएको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रूपमा नलिएको उनले बताए ।
आज आफूमाथि भौतिक आक्रामण भएको सुनाउँदै उनले भने,‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिटिङ बोलाउनुभएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित् पार्टी कार्यालयमा पुग्यौं । संस्थापक केन्द्रीय सदस्य भनिएको थियो । २१ जनालाई बोलाईएको थियो । महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय सदस्यको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रुपको ढोकाको मात्रै चुक्कुल लगाइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’
कसैले कुटपिट गरेको खण्डमा, केही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेशम चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ । उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षणपनि गराए ।
आफूहरुले रेशमलाल चौधरीलाई संरक्षक मानेपनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको उनको भनाई छ । तर, रेशमको भनाइ भने ‘मेरो निर्णय मान्दैनौं भने पार्टीमा बस्न पाइँदैन’ भन्ने रहेको उनले बताए ।
आफू थारुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए । सरकार टिकाउनकै लागि आफूहरुलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ । पार्टी जन्माउनका लागि रेशमको ठूलो भूमिका रहेको स्मरण गराउँदै उनले रेशमले जे भन्यो त्यो मान्न भने आफूहरु बाध्य नरहेको स्पष्ट पारे ।
रेशम चौधरीले व्यक्तिगत स्वार्थ राखेर सुदूर सरकार टिकाउन खोज्नुभयोः रामलाल डगौरा
काठमाडौं, १९ चैत । टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले पछिल्लो समय संघीय सरकारमा समीकरण परिवर्तन भएसँगै नागरिक उन्मुक्ति पार्टीमा विवाद झनै चुलिएको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरुको अडान जनताको म्यानडेडअनुसार सरकारमा सहभागी भएर ०८४ मा नाउपालाई राष्ट्रिय पार्टी बनाउने भएपनि रेशमलाल चौधरीले व्यक्तिगत स्वार्थ राखेर सुदूरपश्चिम सरकारमात्रै सहभागी हुन खोजेको बताए ।
उनले भने,‘पछिल्लो चरणमा अहिले समीकरण परिवर्तन भएको छ । त्यो समीकरणलाई मध्यनजर गर्दै हामी सुदूरपश्चिममा जुन किसिमको म्यान्डेट जनताले दिनुभएको छ, जुम्बिनी प्रदेशमा जुन किसिमको दिनुभएको छ, संघमा दिनु भएको छ ।’
उनले थपे,‘त्यही म्याण्डेडअनुसार अहिलेको नयाँ गठबन्धनको समीकरण सत्तामा जानुपर्छ भन्ने कुरा केन्द्रीय समिति बैठकमा हामीले अगाडि बढाइराखेका छौं । यसलाई हाम्रो संरक्षकज्यूले मान्नुभएको छैन । हाम्रो विवाद देखिएको छ । महाधिवेशन निर्वाचन आयोगले अवैध भनेपछि फेरि त्यहाँ पनि विवाद आएको छ ।’
आफूहरुले नाउपालाई राष्ट्रिय पार्टी बनाउने कोशिस गर्दा रेशम चौधरीले सुदूरपश्चिम सरकारको विषयलाई लिएर समस्या सिर्जना गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array