विद्युत प्राधिकरण र तारकेश्वर नगरपालिका बिच स्मार्ट स्टेट लाइट, हाइमास्क बत्ती र भुमिगत तार व्यवस्थापन सम्बन्धी सहमती

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ चैत्र २०८०, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच तारकेश्वरमा स्मार्ट सडक बत्ती, हाई मास्क बत्ती र भुमिगत तार व्यवस्थापन गर्ने सम्बन्धी सहमती भएको छ ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको छलफल पछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन बिच हिजो उक्त बिषयमा सहमती भएको हो ।
छलफलमा तारकेश्वर नगरपालिकाका तर्फबाट नगरप्रमुख कृष्ण हरि महर्जन, तारकेश्वरको विकास तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण बहादुर घिमिरे र वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ हुनुहुन्थ्यो भने विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान हुनुहुन्थ्यो ।
सहमती पछि विद्युत प्राधिकरणले पहिलो चरणमा नेपालटार देखि फुटुङ जाने सडक निर्माणको काम भइरहेकाले उक्त सडकमा आईतबार देखिनै भूमिगत तार व्यवस्थापनको काम सुरुवात गर्ने छ । प्राधिकरणले नेपालटार पुल देखि फुटुङको विद्युत प्राधिकरणको सब स्टेशन सम्म भुमिगत तार राख्ने काम गर्नेछ । उक्त क्षेत्रमा भुमिगत तार व्यवस्थापनका लागि लाग्ने सम्पुर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सहमती भएको डा. घिमिरेले बताउनुभयो । गत बर्ष देखि निर्माणको चरणमा रहेको नेपालटार–फुटुङ सडकमा भूमिगत तार व्यवस्थापनको बिषयमा गत ४ महिना देखि प्राधिकरण र तारकेश्वर नगरपालिका बिच बिभिन्न चरणमा छलफल भइरहेको थियो । तारकेश्वर नगरपालिकाको योजना तथा विकास प्राधिकरणका उपाध्यक्ष डा. घिमिरेले भुमिगत तार व्यवस्थापनको बिषयमा प्राधिकरणसंग नगरपालिका निरन्तर छलफलमा रहेकाले पनि उक्त सडक निर्माणको काममा ढिलाई भएको बताउनुभयो । डा. घिमिरेले भन्नुभयो “सडक निर्माणको काम सम्पन्न भएको भए फेरी सोही ठाँउमा भुमिगत तारको लागि सडक भत्काउनुपर्ने अवस्था हुन्थ्यो, जस्का कारण नगरपालिकाको पैसा अनावश्यक रुपमा खर्च हुनबाट जोगिएको छ, सडक चाँडै नबन्दा जनतालाई केहि समय असुविधा त भयो, तर भविश्यमा उक्त सडक तारकेश्वरको नमुना सडक बन्ने छ”
त्यस्तै प्राधिकरणले नेपालटार देखि फुटुङ नागपोखरी सम्म र नेपालटार देखी चिसापानी सम्म करिब ७ किलोमिटर सडकमा स्मार्ट स्टेट लाइट समेत राख्नेछ । स्मार्ट स्टेट लाइटका निम्ती लाग्ने खर्चको ६५ प्रतिशत रकम तारकेश्वर नगरपालिका र ३५ प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सहमती भएको छ । स्मार्ट स्टेट लाईट जडानका लागि लाग्ने सम्पुर्ण प्राविधिक सहयोग भने नेपाल विद्युत प्राधिकरणको रहनेछ ।
त्यस्तै प्राधिकरणले सहमती पछि तारकेश्वरका मुख्य चोकहरुमा हाई मास्क बत्ती समेत राख्नेछ । हाई मास्क बत्ती स्मार्ट स्टेट लाइट भन्दा फरक र चम्कीलो खालका हुनेछन् । काठमाण्डौं महानगरपालिकाले समेत महानगरका संबेदनशिल क्षेत्रहरुमा हाईमास्क बत्ती जडान गरेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array