समलिङ्गी विवाहबारे धर्म गुरु, कानुनविद् र मानव अधिकारकर्मीहरुको एकै स्वरः ‘मानव सभ्यताको लागि घातक छ, स्वीकार गर्न सकिँदैन’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ चैत्र २०८०, शनिबार
5 Min Read
Aa

काठमाडौं,  मिडिया एड्भोकेसी फोरम (माफ) नेपालले विश्वमा नै बहस, चर्चा र विवादको विषय बनेको समलिङ्गी विवाहको सन्दर्भमा विचार गोष्ठी गरेको छ । माफ नेपालले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ‘नागरिक सरोकार श्रृङ्खलाअन्तर्गत समलिङ्गी विवाह, सामाजिक अभ्यास, धार्मिक मूल्य र मान्यता तथा कानुनी प्रावधान विषयक विचार गोष्ठी’ सम्पन्न गरेको हो ।  माफ नेपालका अध्यक्ष विदुर अधिकारीले व्यक्तिको निजी चाहना र नयाँ खोजलाई समाजले स्थान दिनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए । यसो भनिरहँदा आफूहरु विकृतिलाई प्रश्रय दिनुपर्छ भन्ने पक्षमा नरहेकोसमेत उनले स्पष्ट पारे ।  अध्यक्ष अधिकारीले माफ नेपालको लक्ष्य मानवीय प्रतिष्ठा, नागरिक स्वतन्त्रता र सुशासनको पक्षमा काम गर्नु रहेको बताए । सामाजिक, कानुनी र मानव अधिकार सम्बन्धि विषय माफ नेपालको चासोको विषय बन्ने गरेको उनको भनाइ छ ।
इसाई धर्म गुरु तथा समाजसेवी डा.सुन्दर थापाले बाइबलमा परमेश्वरले नर र नारी दुवैको शृष्टि गरेको भन्दै समलिङ्गी विवाहको विपक्षमा धारणा राखे । समलिङ्गी विवाह अप्राकृतिक, अनुत्पादक, पापमय, ईश्वरीय दण्डको योग्य र मानव सभ्यताको लागि घातक रहेको बताए ।
विश्व हिन्दु महासंघ नेपालका प्रमुख सल्लाहकार स्वामी दामोदर गौतमले समलिङ्गी विवाह पूर्वीय दर्शनको अनुशासनभित्र नपर्ने बताए । उनले समलिङ्गी विवाह दुर्भाग्यपूर्ण हुने बताए । समलिङ्गी विवाह अप्राकृतिक भएकाले यसले मान्यता पाउन नहुने धारणा राखे । समलिङ्गी विवाह अप्राकृतिक, अस्वाभाविक र अनुत्पादक रहेको उनको भनाइ छ ।
बौद्ध धर्मगुरु भिक्षु एवं आनन्द कुटी विहारका प्रमुख धर्ममूर्ति महास्थवीरले धर्मले समलिङ्गी विवाहलाई कल्पना नगरेको र मान्यता नदिने बताए । विवाहको औचित्य र अर्थ महत्वपूर्ण हुने उनको भनाइ छ । विवाह पुरुष र महिलाबीचको सम्बन्धलाई सामाजिक रूपमा स्वीकार गरेर बढवा दिने कार्य भएको उनले बताए । धर्म र समाज र राज्यले स्वीकार गर्ने भन्दा बाहेकको विवाहलाई स्थापित गर्न नसकिने उनको भनाइ छ ।
‘समलिङ्गी विवाहलाई धर्मले मान्यता दिँदैन । यस्ता गतिविधिलाई हामीले सचेत भएर निरुत्साहित गर्न सकेमा समाजको उन्नति, प्रगति हुनसक्छ,’–उनले भने ।
अधिवक्ता प्रकाश नेपालीले समलिङ्गी विवाहको सम्बन्धमा अदालतबाट अन्तरिम आदेश जारी भएको बताए । उक्त आदेश जारी भएसँगै नेपाल र नेपाली समाज तरङ्गित भएको बताए । उनले मानव अधिकारको विश्वव्यायी घोषणा–१९४८ को धारा १६ मा उमेर पुगेका पुरुष वा महिलालाई विवाह गर्ने स्वतन्त्रता हुनेछ भन्ने प्रावधान रहेको बताए । विवाह गर्न इच्छुक व्यक्ति पुरुष र महिला हुनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
समलिङ्गी विवाहलाई छिमेकी मुलुक चीन र भारतले पनि कानुनी वैधता प्रदान नगरेको उनको भनाइ छ । नेपालको सन्दर्भमा समलिङ्गी विवाहलाई लम्जुङ जिल्लाको दोर्दी गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकाले दर्ता गरेको उनले बताए । स्थानीय तहले दर्ता गरेको उक्त विवाहको पछाडि कुनै कानुनी आधार नरहेको उनको भनाइ छ । कसैले त्यो विवाहको विरुद्धमा रिट हालिदिएको अवस्थामा त्यो बदर हुने उनले ठोकुवा गरे ।
राज्यले स्पष्टसँग समलिङ्गी विवाह हुन सक्ने भनेर कानुनमा उल्लेख नगरेसम्म मान्यता नपाउने उनले बताए । अधिवक्ता नेपालीले नेपालमा समलिङ्गी विवाहको कानुनी आधार नरहेको उनको दाबी छ ।
इस्लामिक संघ नेपालका केन्द्रीय सदस्य अजिजुल्ला अन्सारीले कुरानमा समलिङ्गी विवाहको कल्पनासमेत नरहेको बताए । समलिङ्गी विवाहलाई उनले व्याभिचारको संज्ञा दिए । समलिङ्गी विवाहको बारेमा कुरानमा पनि उल्लेख गरेको र त्यस्ता मानिसहरुलाई ईश्वरले दण्डित गर्ने गरेको उनको भनाइ छ ।
समाजशास्त्री एवं बालअधिकारकर्मी डा.जोमेश वडले प्राकृतिक विवाहलाई मात्रै सामाजिक विवाहको मान्यता दिन सकिने बताए । अहिले समलिङ्गी विवाहको अभ्यास र विभिन्न सवालहरु उठ्दै गर्दा हामी होसियार हुन जरुरी रहेको उनले बताए ।
‘समलिङ्गी विवाह दर्ता हुँदैगर्दाखेरी हामी होसियारी हुन आवश्यक छ कि हामीले राष्ट्रलाई बर्वाद पार्दैछौं । एउटा परिवार भत्किँदै छ, समाज बिग्रिदै छ । राष्ट्र निर्माणमा यसले ठूलो धक्का पुर्याउँदैछ,’– उनले भने ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा. केबी रोकायाले समलिङ्गी विवाहको सबैभन्दा बढी विरोध गर्ने देश रूस र नेताहरुमा पुटिन भएको दाबी गरे । उनले पुटिनले रूसमा यस्तो प्रकारको विवाहको गन्ध पनि आउन नदिने गरेको बताए । साथै, भारतमा पनि यस्तो प्रकारको विवाह बर्जित रहेको बताए । सर्वोच्च अदालतको एकल इजलासले नेपालमा ‘समलिङ्गी विवाह दर्ता गर्ने व्यवस्था गर’ भनेर आदेश दिएको उनले बताए ।
नेपाल एसियामा समलिङ्गी विवाह दर्ता गर्ने पहिलो देश बनेको उनले बताए । कानुन नै नभएको अवस्थामा एकल इजलासको आदेशमा समलिङ्गी विवाह दर्ता भइरहेको भन्दै उनले आपत्ति जनाए । नेपाल संसारभरका समलिङ्गीहरुको गन्तव्य देश बन्ने खतरा बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array