अमेरिकामा एरिकालाई ९ लाखसहितको सम्मान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ चैत्र २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं , एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढि रकमसहित सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रममा एरिकालाई ७ हजार ११ अमेरिकी डलर र प्रशंसा पत्र सहितसम्मान गरिएको हो । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको‌ बालाजुमा विगत चारवर्षदेखि सञ्चालनमा छ । टक्सासमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन अमेरिका पुगेकी एरिकालाई न्युयोर्कमा सम्मान गरिएको हो ।उनलाई तमु परिवारले २ हजार ७ सय ५६, तमु सोसाईटीले ९ सय ५३, सुदुरपश्चिम समाजले ५ सय ५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १ सय ९०, मामा भान्जा ग्रुपले १ हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए ।

युएसए ओपनको १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा भने रजत पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औं एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन् । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् । लामाको सभापतित्वमा भएको कार्यक्रममा १३ औं एसियाडका कास्य पदक विजेता सम्बरबहादुर गोलेले एरिकालाई‌ सम्मान गरेका थिए । सोही अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका आठौ र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औं सागका स्वर्ण पदक विजेताअनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् । विप्लभले पनि युएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए । दुई महिनाअघि न्युयोर्कमा सुरु भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशूल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन् । उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले ताइची र छि गुङको प्रशिक्षण दिने बताइएको छ । उनी पनि हाल न्युयोर्कमै छन् ।

प्रतिक्रिया दिनुहोस्

Array