अमेरिकामा एरिकालाई ९ लाखसहितको सम्मान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ चैत्र २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं , एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढि रकमसहित सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रममा एरिकालाई ७ हजार ११ अमेरिकी डलर र प्रशंसा पत्र सहितसम्मान गरिएको हो । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको बालाजुमा विगत चारवर्षदेखि सञ्चालनमा छ ।
टक्सासमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन अमेरिका पुगेकी एरिकालाई न्युयोर्कमा सम्मान गरिएको हो । उनलाई तमु परिवारले २ हजार ७ सय ५६, तमु सोसाईटीले ९ सय ५३, सुदुरपश्चिम समाजले ५ सय ५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १ सय ९०, मामा भान्जा ग्रुपले १ हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए ।युएसए ओपनको १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा भने रजत पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औं एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन् । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् । लामाको सभापतित्वमा भएको कार्यक्रममा १३ औं एसियाडका कास्य पदक विजेता सम्बरबहादुर गोलेले एरिकालाई सम्मान गरेका थिए । सोही अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका आठौ र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औं सागका स्वर्ण पदक विजेताअनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् । विप्लभले पनि युएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।
दुई महिनाअघि न्युयोर्कमा सुरु भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशूल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन् । उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले ताइची र छि गुङको प्रशिक्षण दिने बताइएको छ । उनी पनि हाल न्युयोर्कमै छन् ।

प्रतिक्रिया दिनुहोस्

Array