पछिल्लो समय युवाहरुमा हुक्का तथा ई-सिगरेटको प्रयोग बढ्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ चैत्र २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं,  नेपालमा पछिल्लो समय युवाहरुमा हुक्का तथा ई-सिगरेटको प्रयोग बढ्दै गएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको नियन्त्रणको विषयमा गरेको सर्वेक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। उक्त अध्ययनले युवाहरुमा हुक्का तथा ई-सिगरेटको प्रयोग बढ्दै गएको भन्दै हुक्का र ई-सिगरेटलाई स्वास्थ्य जोखिम करको दायरामा ल्याउनुपर्ने  र अन्तशुल्क पनि वृद्धि गर्नुपर्ने प्रतिष्ठानले सुझाव दिएको छ। प्रतिष्ठानले  सार्वजनिक गरेको सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष सुुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जनाको मृत्यु हुने गर्छ। जुन मृत्यु प्रतिघण्टा सरदरमा ४ जना भन्दा बढी हो। सरकारले गत वर्ष सुर्तीजन्य पदार्थबाट संकलन गर्ने कर भन्दा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने क्षतिको खर्च बढी हुन आउने सो सर्वेक्षणमा उल्लेख गरिएको छ।

सरकारले गत वर्ष ३० अर्ब ६१ करोड संकलन गरेको उल्लेख गर्दै सुर्तीजन्य पदार्थको सेवनले हुने नसर्ने रोगहरुमा हुने उपचार खर्च र क्षति ४४ अर्ब भएको सो सर्वेक्षणमा उल्लेख गरिएको छ। हाल नेपालमा सुर्तीजन्य पदार्थको सेवनकर्ताको संख्या ३४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ। युवाहरुमा हुक्का  र ईलेक्टोनिक सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग बढ्न थालेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मुल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड बनाएपनि नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मुल्यमा ४१ प्रतिशत मात्र कर लगाइएको पाइएको छ। सो सर्वेक्षणले सुर्तीजन्य पदार्थमा कर वृद्धि गरे खपतमा कमी हुने तथा राजस्वमा वृद्धि हुने जनाएको छ।

सो सर्वेक्षणले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवन तथा व्यापारलाई निरुत्साहित पार्न विशेष कार्यक्रम समावेश गरिनुपर्ने, सुर्तीजन्य पदार्थमा लाग्ने अन्तशुल्कलाई अझ प्रभावकारी बनाउन हरेक वर्ष कम्तिमा ३५ प्रतिशते वृद्धि गर्नुपर्ने सुझाव दिइएको छ।

swasthekhabar

प्रतिक्रिया दिनुहोस्

Array