शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ बैशाख २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं ।  शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.३१ कमाण्ड तथा स्टाफ तालिमको थालनी भएको छ ।  तालिमको शुभारम्भ गर्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रहरूमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौतीमा वृद्धि हुनुले त्यस्ता चुनौतीहरूको सामना गर्न तयार रहनुपर्ने बताउनु भयो । उहाँले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई एक अर्कामा मित्रवत भई अनुभव आदान प्रदान गर्दै भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढङ्गले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै शिक्षाधिकृत उपरथी श्री बाबुराम श्रेष्ठले सैनिक कमाण्ड तथा स्टाफ तालिमको महत्वका बारे प्रकाश पार्नुभयो । सेनाले निर्वाह गर्नुपर्ने बहु आयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृतहरू तयार गर्ने ढङ्गले तालिममा विविध विषयवस्तुहरू समेटिएको कुरा उपरथी श्री श्रेष्ठले बताउनु भयो ।

 मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका महिला २ जना सहित ५४ अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ गरी ३ जना अधिकृतहरू तथा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य वेलायत र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी १० विदेशी सहित जम्मा ६७ जना अधिकृतहरू सहभागी छन् ।

 वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजले वि.सं. २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन शुरु भएको यस तालिमबाट हालसम्म नेपाली सेनाका ११७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल, नेपालका २७, राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका ११४ गरी जम्मा १३४८ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् । 

 कार्यक्रममा, रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षकहरु, कलेजका पूर्व कमण्डाण्टहरु, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त अनुसन्धान निर्देशक, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन, प्राध्यापकहरू, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक, रक्षा मन्त्रालयका सह सचिव, विभिन्न राष्ट्रका सैनिक सहचारीहरू, विदेशी शिक्षार्थीहरूका Community Sponsors लगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array