युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न विज्ञहरुको  सुझाव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ बैशाख २०८१, आईतवार
3 Min Read
Aa
काठमाडौँ – कृषि उत्पादन बढाउने तथा युवा जनशक्तिलाई  स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने दीर्घकालीन योजना तयार गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । “हाम्रो आदत:  श्रम निर्यात, खाद्यान्न आयात” विषयमा जय नेपाल फाउण्डेसनले काठमाडौमा आयोजना गरेको छलफलका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा युवा जनशक्ति विदेश पठाउने र खाद्यान्य आयात गर्ने नियतिमा सुधार नहुने हो भने समुन्नत नेपाल निर्माणको अभियानले सार्थकता प्राप्त गर्नै नसक्ने निश्कर्ष समेत निकालिएको छ ।

कार्यक्रममा व्यवस्थापन विज्ञ डा.वासुदेव गिरीले उत्पादनशील युवा जनशक्ति विदेश पठाउने र प्राप्त रेमिट्यान्स फजुल खर्चमा उपयोग गर्ने संस्कृतिले नेपाली समाज जकडिएको उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म गरिबी घटाउने तथा उत्पादन बढाउने योजनाले सफलता प्राप्त गर्न नसक्ने बताए  । कृषि पेशालाई  आकर्षक र सम्मानित बनाउनुपर्नेमा जोड दिंदै गिरीले किसानले मल र विउविजन समेत समयमा प्राप्त गर्न नसक्ने अवस्थाले आत्मनिर्भर अर्थतन्त्रको यात्रा कसरी सम्भव होला भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गरे। आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा प्रणालीदेखि आदत सुधारसम्मको आवश्यकता रहेको डाक्टर गिरीको भनाइ छ ।

कृषि विज्ञ पुरुषोत्तम अर्यालले कृषिक्षेत्रको विकासविना नेपाल समृद्ध बन्न नसक्ने हुँदा बाँझो जमिनलाई  प्रयोगमा ल्याउने दीर्घकालिन योजना बनाउनुपर्ने बताए । कृषिमा आत्मनिर्भर बन्न ‘कोरिया होइन खोरियातिर लागौं’ भन्ने अभियान संचालन गर्नुपर्ने अर्यालले सुझाव दिए ।
यसैगरी नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमल्सेनाले नमुना कृषि परियोजना अघि बढाउन आवश्यक रहेकोमा जोडदिदै प्रविधिको प्रयोग मार्फत कृषिको व्यवसायीकरण तीव्र गरिनुपर्ने बताए  । यसका लागि राष्टिय सहमति नै बन्नुपर्ने भन्दै तिमल्सेनाले सबै मन्त्रालयहरुसंग समन्वय गर्न राष्टिय कृषि सचिवालय नै खडा गर्न आवश्यक देखिएको जनाए। ट्रेड युनियनकर्मी यमुना बमले कृषिमा आत्मनिर्भर बन्न किसानमुखी नीतिको व्यवहारमै कार्यान्वयन हुनुपर्ने उल्लेख गरे ।
युवा अभियन्ता एवं अधिवक्ता शंकर पौडेलले दुइ करोड एकानब्बे लाख जनसंख्यामध्ये सतसठ्ठी लाख युवा जनशक्ति विदेशमा रहेको तथ्यांक उल्लेख गर्दै गुन्द्रुक,स्यानिटरी प्याडदेखि प्याजसम्म आयात गरेर खानुपर्ने नियति अन्त्य गर्ने योजना नबनेसम्म समृद्धिका गफ र भाषणले मुलुक नबन्ने जनाए । युवा नेता भावुक न्यौपानेले कृषिलाई उद्योगसग जोड्नुपर्ने खाँचो औल्याउदै बिचौलियाको विगविगि समाप्त गरि किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण तयार गर्नु पर्ने बताए  । उक्त अन्तरक्रियामा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य सुदन कुमार ओली लगायतले आआफ्नो धारणा प्रस्तुत गरेका थिए ।
प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष तथा पत्रकार गोकर्ण अर्यालले खाद्यान्न समेत किनेर खानुपर्ने देशले विकासमा फड्को मार्न सम्भव नरहेको उल्लेख गर्दै कृषि र शिक्षा दुवै क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएको बताए ।
जय नेपाल फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले प्रत्येक साता विज्ञहरुसंग अन्तरक्रिया गरेर प्राप्त सुझावका अधारमा नीतिगत हस्तक्षेपकै माध्यमवाट सुशासन र समृद्धिको यात्रामा सरकारलाइ झकझक्याउने लक्ष्य अनुरुप छलफल आयोजना गरिएको बताए । त्यस्तै फाउण्डेसनकी संस्थापक सदस्य एवं कांग्रेस नेतृ बिजुला वर्माले राजनीति ठिक नहुदासम्म जतिसुकै तर्क गरेपनि समुन्नतिको मार्ग तय हुन नसक्ने भएकाले यस्तो अभियानमा युवाहरुलाइ सहभागी गराउने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको जनाइन् । कार्यक्रममा फाउण्डेसनका संस्थापक सदस्यसचिव  विजयराज अधिकारी, वीरेन्द्र कुमार सल्यानी, ज्ञानु तिमल्सेना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array