प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औ स्मृति दिवस आज नेकपा एमालेले विविध कार्यक्रम गरी मनाउँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं, नेकपा एमालेका पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औ स्मृति दिवस आज नेकपा एमालेले विविध कार्यक्रम गरी मनाउँदै छ । यसै अवसरमा ललितपुरको सानेपामा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको नमुना कार्यक्रम भएको बताउनुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले आफ्नो गाउँ, आफै बनाऔँ र ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रम लोककल्याणकारी कार्यको एक दृष्टान्त भएको बताउनुभयो । पूर्व राष्ट्रपति भण्डारीले मनमोहन अधिकारीको त्यतिबेलाको स्पष्ट दृष्टिकोणले अहिले पनि ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोण सकारात्मक हुनुका साथै जीवनयापनमा महत्वपूर्ण सहयोग पुगिरहेको बताउनुभयो ।कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले शिक्षा क्षेत्रमा मनमोहन अधिकारीको विशेष रुचि भएकाले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भइसकेको र ज्येष्ठ नागरिकहरूलाई प्रतिष्ठानले सम्मान गर्दै आइरहेको जानकारी दिनुभयो ।

उपाध्यक्ष पोखरेलले अधिकारीले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिइरहेको र अहिलेका विद्यार्थी नेताहरूले मनमोहन अधिकारीको जीवनीबाट सिक्न जरुरी भएको बताउनुभयो ।कार्यक्रममा डा.बेदुराम भुषाल र ढाकाराम सापकोटाले लेख्नुभएको मनमोहन अधिकारीको जीवन गाथालाई समेटिएको पुस्तक ‘मनमोहन अधिकारी’ को विमोचन पूर्वराष्ट्रपति भण्डारी र एमाले उपाध्यक्ष पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई सम्मान र बिदाईगरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array